लागत र समय घटाएर फास्ट ट्र्याकको डीपीआर संशोधन

काठमाडौँ-तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) संशोधन गरिएको छ । लागत समय र लागत मूल्य घट्ने गरी द्रुतमार्गको प्रतिवेदन संशोधन गरिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।

मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौँ-तराई/मधेस द्रुतमार्गको डीपीआर संशोधनको निर्णय गरेको हो । झण्डै दुई अर्ब रूपैयाँ घट्ने र निर्माणको समय पनि घट्ने गरी द्रुतमार्गको डीपीआर संशोधन भएको मन्त्री ज्वालाले बताए । उनले भने, ‘सुरूङमार्ग थपिँदा सडकको लम्बाइ र मूल्य दुबै घट्यो ।’

काठमाडौँ-मधेस ‘लाइफ लाइन’ का रूपमा रहेको द्रुतमार्ग नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ । वि. सं. २०७४ वैशाख २१ देखि निर्माण सुरू गरिएको काठमाडौँ-तराई/मधेस द्रुतमार्गको हालसम्म २५ दशमलव ५४ प्रतिशत मात्र प्रगति भएको छ र वि. सं. २०८३ साल चैत मसान्तसम्म सक्ने लक्ष्य लिइएको छ ।

द्रुतमार्गको प्रगति कमजोर देखिएपछि मन्त्री ज्वालाले नेपाली सेनासँग असन्तुष्टि जनाए । द्रुतमार्गको काम द्रुतगतिमा हुनुपर्ने भए पनि प्रगति हेर्दा आशावादी नभएको नेपाली सेनाका अधिकारीलाई मन्त्री ज्वालाले बताएका थिए ।

प्रतिवेदन संशोधन भएपछि लागत मूल्य पनि घट्ने भएको छ । दुई खर्ब १३ अर्ब नौ करोड ५३ लाख रूपैयाँको लागत रहेकामा संशोधनपछि दुई खर्ब ११ अर्ब नौ करोड ३० लाख रूपैयाँ आयोजनाको लागत रहने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर