बरामद तस्करीकाे सुन पूर्ण शुद्ध

तस्करहरूले हङ्कङबाट मोटरसाइकलको ‘ब्रेक शु’ भित्र लुकाएर ल्याएको सुनको शुद्धता ९९ दशमलव ९ प्रतिशत भएको परीक्षणबाट पाइएको  छ। हाल नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा राखिएको सुन परीक्षण गर्दा पूर्ण शुद्ध रहेको पाइएको राष्ट्र बैंकका सहायक प्रवक्ता डा डिल्लीराम पोखरेलले जानकारी दिए ।

उनले उक्त सुन ९९ दशमलव ९ प्रतिशत नै शुद्ध रहेको भनेर विभागलाई जानकारी गराइएको बताए । ‘९९ दशमलव ९ प्रतिशत हुनु भनेको सुन पूर्ण शुद्ध हो,’ उनले भने ।

टक्सार विभागले सुनको परीक्षण प्रतिवेदन राष्ट्र बैंक, राजस्व अनुसन्धान विभागलगायत सरोकारवाला निकायमा पठाइसकेको छ ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाले सुन पूर्ण शुद्ध रहेको जानकारी आएको बताए । प्राप्त जानकारीमा उक्त सुन २४ क्यारेटकै रहेको जनाइएको छ । बरामद गरिएको सुन गत साउन ३० गते गालेर बिस्कुट बनाइ जोख्दा ६० किलो सात सय १६ ग्राम भएको थियो ।

त्यसको अघिल्लो दिन साउन २९ गते ब्रेक शुबाट सुन छुट्याउने काम भएको थियो । यसरी छुट्याइएको सुन ६० किलो सात सय ८९ ग्राम तौल थियो । गालेपछि सुनको मात्रा ७३ ग्राम घटेको थियो ।

राजस्व अनुसन्धान विभागले साउन ३ गते सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट सुनसहितको एक सय ५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । अहिले सुन तस्करीको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर