अपराध-सुरक्षा

कैदी मृत्यु प्रकरण : सुरक्षा इञ्चार्ज असईसहित १२ जनाविरूद्ध कर्तव्य ज्यान मुद्दा दर्ता

पाँच प्रहरीलाई विभागीय कारबाहीका लागि सिफारिस

सङ्खुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा प्रहरीसहित १२ जनाविरूद्ध कर्तव्य ज्यानमा मुद्दा दर्ता भएको छ।

कैदीको हत्या प्रकरणमा संलग्न देखिएका प्रहरी, चौकीदार र कैदीसहित १२ जनाविरूद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको हो। कारागारमा रहेको सीसीटीभी फुटेज अध्ययनबाट घटनामा प्रहरी र चौकीदारसहित केही कैदीको संलग्नता देखिएको थियो।

कैदी मृत्यु प्रकरणमा प्रहरीसहित १२ जनाविरूद्ध कर्तव्य ज्यानमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए। अनुसन्धान टोलीको प्रतिवेदन आएपछि थप कारबाहीको प्रक्रिया अघि बढ्ने प्रनाउ गोदारले बताए।

घटनालगत्तै गृह मन्त्रालयले कारागार विभागका निर्देशक कमलप्रसाद पाण्डेको नेतृत्वमा पाँच सदस्यीय छानबिन टोली बनाएको थियो। मन्त्रालयले छानबिन टोलीलाई १० दिनभित्र कारागार घटनाको प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो।

कैदी मृत्यु प्रकरण प्रत्यक्ष संलग्न देखिएका पाँच प्रहरीलाई विभागीय कारबाहीका लागि सिफारिस गरिएको छ। कारागार सुरक्षा इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) लक्ष्मी चौधरीमाथि जिल्ला अदालतबाट भदौ १ गते शुक्रबार दोस्रो पटक पुनः म्याद थप गरेर अनुसन्धान भइरहेको छ। असई चौधरीसहित ११ जनाविरूद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेर अनुसन्धान भइरेहको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पीडितले दिएको किटानी जाहेरीका आधारमा सहायक निरीक्षक चौधरीसहित कारागार निमित्त प्रमुख राजेन्द्र घिमिरेविरुद्ध जिल्ला अदालत सङ्खुवासभाले गत साउन २८ गते पक्राउका लागि अनुमति दिएको थियो। कारागार निमित्त प्रमुख घिमिरेलाई भने हालसम्म पक्राउ गरिएको छैन।

कुटपिटबाट सङ्खुवासभा मादी नगरपालिका-५ का २० वर्षीय विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका-७ का २८ वर्षीय आकाश बलामीको बुधबार बिहान मृत्यु भएको थियो। पच्चीस जनाको क्षमता रहेको कारागारमा अहिले एक सय ३६ जना कैदीबन्दी छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *