अर्थमन्त्री महत जीईएफको उपाध्यक्षमा निर्वाचित

नेपालका अर्थमन्त्री डा. प्रकाशशरण महत ग्लोबल इनभाइरोमेन्ट फ्यासिलिटी (जीईएफ) को ७ औं विश्व सम्मेलनको प्लेनरी सेसनबाट उपाध्यक्षमा निर्वाचित भएका छन्।

एसेम्ब्लीको जारी बैठकमा गणतन्त्र पानामाको प्रस्ताव तथा नेदरल्यान्डको समर्थनमा मन्त्री महत उपाध्यक्षमा निर्वाचित भएको उनको सचिवालयले जनाएको छ।

यसअघि मन्त्री डा. महतले विश्व वातावरण कोषको एसेम्ब्ली बैठकमा सम्बोधन गर्दै नेपालले कुल क्षेत्रफलको ४५ प्रतिशत वन संरक्षण गरी समग्र मानव समुदायका लागि स्वच्छ अक्सिजन प्रवाह गरेको बता ।

साथै उनले दक्षिण एसियाका एक अर्बभन्दा बढी जनसंख्याकालागि पानीको स्रोत रहेको विषय विश्व समुदायमा ध्यानाकर्षण गराएका छन्।

यसैगरी नेपालले जैविक विविधताको संरक्षणमा इमान्दार प्रयत्न गरिरहेको साथै दुर्लभ तथा संकटापन्न जंगली जनावर तथा प्रजातिहरूको संरक्षण गरेको र सोको नतिजास्वरूप बाघ तथा गैंडाको संख्यामा उल्लेख्य रूपमा वृद्धि भएको जानकारी गराए।

सो अवसरमा उनले नेपाल विश्वको १० औं जोखिमयुक्त मुलुक भएको र पछिल्ला दिनहरूमा बाढी, पहिरो, अतिवृष्टि, सुक्खा साथै हिमताल विस्फोटको जोखिमसमेत बढेको भन्दै विश्वको ध्यानाकर्षण गराएका छन्।

नेपालको तापक्रम सन् २०३० सम्ममा ०.५ देखि २.० डिग्री सेल्सियसले बढ्ने अनुमान रहेको र यसबाट हुने असर र प्रभावसँग सामना गर्न सन् २०५० सम्ममा ५० अर्ब अमेरिकी डलर भन्दा बढी लगानी आवश्यक रहेकोतर्फ उनले ध्यानाकर्षण गराए।

अर्थमन्त्री डा. महतले जलवायु वित्तबाट सञ्चालित कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै यसै एसेम्ब्लीबाट अनुमोदित विश्व जैविक विविधता खाका कोषलगायतका स्रोत अति प्रभावित मुलुकहरूमा केन्द्रित गर्न अनुरोध गरे।

जबसम्म एकीकृत र समुच्च रूपमा कार्यान्वयन गरिँदैन तबसम्म कोषको आकार मात्र बढाएर खासै प्रभावकारी नहुने धारणा उनको थियो।

जलवायु परिवर्तन जोखिम उच्च भएका देशहरूको समेत प्रतिनिधित्व गर्दै लगानी आयोजनाहरूको गुणस्तर बढाउन स्थानीय जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने गरी कार्यान्वयन गर्नुपर्नेमा उनको जोड छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर