सामाजिक सद्भाव भड्काएर राजनीतिको रोटी सेक्न हुँदैन : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सामाजिक तथा जातीय सद्भाव भड्काएर राजनीतिको रोटी सेक्ने काम हुन लागेको बताएका छन्।

टोखा नगरपालिकामा शनिवार बिहान आयोजना गरिएको पार्टीको भेलालाई सम्बोधन गर्दै अध्यक्ष लामिछानेले सामाजिक र जातीय सद्भाव कायम राख्न सबैलाई आग्रह गरेका हुन्।

प्रमुख राजनीतिक दलहरू सुन, भ्रष्टाचारलगायतका काण्ड ढाकछोप गर्न लागिपरेको आरोप लगाउँदै लामिछानेले जातीय, क्षेत्रीय तथा धार्मीक द्वन्द्वको भुमरीमा मुलुकलाई धकल्ने काम नगर्न आग्रह गरे।

‘आज जातीय सद्भाव भड्काउन पाइयो भने भ्रष्टाचारका यत्रा काण्डहरू सामसु थामथुम हुन्छ होला भनेर त्यतातिर आगो झोसिरहेका छन्,’ उनले भने, ‘खबरदार त्यो आगोमा पेट्रोल र मट्टितेल हाल्ने काम कसैले नगर्नुहोला!’

समाजिक सद्भाव कायम गर्न आफू पानी हाल्न तयार रहेको जनाउँदै उनले सबैलाई कानूनको पालना गर्न आग्रह गरे।

‘कानूनविपरीत कार्य हामी कसैले पनि गर्न हुँदैन। त्योभन्दा पनि महत्त्वपूर्ण कुरा सद्भाव खल्बल्याउने कुरा, एकअर्काको बीचमा वैमनस्यता खडा गर्ने कुरा र त्यसबाट राजनीतिको रोटी सेक्ने काम कसैले पनि गर्न हुँदैन।’

उनले समाजको सद्भाव खलबल्याउनेबाट सचेत हुनुपर्ने भन्दै सामाजिक सञ्जालमा लेखिएका कुराको पछि लाग्न नहुने बताए। त्यस्तै उनले सबै मिलेर बेथितिका विरूद्ध लड्नुपर्नेमा जोड दिए।

‘हाम्रो दुश्मनी भनेको एकअर्काको होइन, एउटा जाति र अर्को जाति के यो नेपालीको दुश्मन हो? एउटा समुदाय अर्को समुदायको दुश्मन हो? हाम्रो साझा दुश्मन गरिबी, अशिक्षा र बेरोजगार हो। हरेक नेपालीको साझा दुश्मन त्यही हो। हाम्रो लडाइँ त्यो दुश्मनसँग हो, एकअर्कासँग होइन।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *