नेपालगञ्जमा तस्करीको सामान बरामद गर्दा झडप, दुई सशस्त्र प्रहरीसहित तीन घाइते

बाँकेको नेपालगञ्जमा सशस्त्र प्रहरीले तस्करीको सामान बरामद गरेपछि सामान ल्याउने व्यक्तिहरू र सशस्त्र प्रहरीबीच झडप भएको छ।

झडपमा दुई जना सशस्त्र प्रहरी र एक जना स्थानीय घाइते भएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

नेपालगञ्ज उपमहानगरपालिका-१६, चौलिका चोकबाट बिहीबार राति साढे ९ बजे नं. ३० बागेश्वरी गण बाँकेको टोलीले चोरीपैठारीका विभिन्न सामान बरामद गरेको थियो।

हार्डवेयरका ती सामान पूरा भन्सार नतिरेको पाइएपछि सशस्त्र प्रहरीले बरामद गरेको हो।

तर, भन्सार छलीका उक्त सामान फिर्ता पाउनुपर्छ भन्दै ल्याउने व्यक्तिहरू र स्थानीय बासिन्दासहित सय जनाभन्दा बढी भेला भएर ड्युटीमा खटिएका सशस्त्र प्रहरीलाई हुलहुज्जत गरी सामान खोसेर लैजान खोजेका थिए।

तत्काल थप मद्दतका लागि उक्त गण, प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाह र बीओपी जयसपुरबाट खटिएको ७१ जनाको सुरक्षा फौजले हुलहुज्जत गर्ने व्यक्तिहरूलाई सम्झाईबुझाई गरेर पठाएको थियो।

तर, सामान ल्याउने व्यक्तिहरूले पुनः रति साढे १० बजे सोही स्थानमा फर्किएर ड्युटीमा रहेका सशस्त्र प्रहरीमाथि ढुंगामुढा प्रहार गरेर भागेका थिए। सो क्रममा सोही उपमहानगरपालिका-१४ बस्ने १८ वर्षीय जहित हसमित सामान्य घाइते भएका थिए।

ढुंगामुढा प्रहारबाट नं. ३० बागेश्वरी गण बाँकेमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार बेदप्रसाद पौडेल र सशस्त्र प्रहरी जवान गणेश बुढा घाइते भएका छन्। यस्तै ना १ झ ५७४ नम्बरको गाडीमा क्षति पुगेको छ।

सशस्त्र प्रहरीले चोरीपैठारीका हार्डवेयरका सामान, चामल तथा चिनी बरामद गरेको थियो। बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीले जनाएको छ।

भिडियाे :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *