सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित तीन जनाविरूद्ध भ्रष्टाचार मुद्दा

सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीसहित तीन जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आइतबार वडा नम्बर २ का तत्कालीन वडाध्यक्ष रमेशकुमार बस्नेत, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी र तत्कालीन लेखापाल जीवन सुवेदीविरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार वडा कार्यालय भवन निर्माणका लागि निःशुल्क प्राप्त जग्गा किनेको झुटा काजगात तयार गरी ६ लाख रूपैयाँ भुक्तानी लिए दिएको देखिएकाले उनीहरूविरूद्ध मुद्दा दर्ता गरिएको हो।

उनीहरूविरूद्ध परेको उजुरीमाथि अनुसन्धान हुँदा तत्कालीन वडाध्यक्ष बस्नेतले भवन निर्माणका लागि निःशुल्क पाएको जग्गालाई खरिद गरेको भन्दै ६ लाख रूपैयाँ भुक्तानी लिएका थिए।

अधिकृत भण्डारी र लेखापाल सुवेदीले जग्गा खरिद गरेको झुटा व्यहोरा उल्लेख गरी ६ लाख रूपैयाँ दिएका थिए।

दानपत्रबाट जग्गा रजिष्ट्रेसन पास भएको कागजात देखिँदासमेत उनीहरूले दिन नमिल्ने रकम भुक्तानी दिएको अख्तियारको ठहर छ।

उनीहरूविरूद्ध ६ लाख रूपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सजाय र बिगो असुलउपरको मागदाबी अख्तियारले लिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर