क्यानडा पठाउने नक्कली विज्ञापन गरेर साढे ३४ लाख रूपैयाँ ठगी, दुई जना पक्राउ

वैदेशिक रोजगारीका लागि क्यानडा जान पाइने लोभमा नक्कली विज्ञापनको भर पर्दा नेपालीहरू ठगीमा परेका छन्। उनीहरूले ३४ लाख रूपैयाँ ठगिएपछि मात्रै आफू ठगीमा परेको सुइँको पाएका थिए । त्यसपछि उनीहरू प्रहरीको सम्पर्कमा आइपुगेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए।

कार्यालका अनुसार इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारका लागि क्यानडा जान वर्कपर्मिट भिसा पाइने भनी नक्कली विज्ञापनमा फस्दा पीडितहरूले ठूलो रकम गुमाउन पुगेका हुन्।

अनुसन्धानमा उक्त विज्ञापनपछि सम्पर्कमा पुगेका पीडितलाई क्यानडामा क्यासियरको काम लगाइदिने र त्यसबापत पाँच लाख ४५ हजार रूपैयाँ तलब हुने लोभ देखाएर रकम ठगी गरेको पाइएको हो।

‘क्यानडा जानका लागि प्रोसेसका लागि आईएलटीएस सर्टिफिकेट र सीभी, राहदानी, शैक्षिक योग्यताको प्रमाणपत्रहरू पठाइदिनुहोस् भनी पटक-पटक ह्वाट्सएपबाट माग गरेको पाइयो, त्यसपछि पीडितले कागजात पठाएका थिए,’ प्रहरी उपरीक्षक रेग्मीले भने, ‘उक्त कागजात पेस गर्न रकम तिर्नुपर्छ भनी पीडितबाट नेपालमा रहेका विभिन्न व्यक्तिहरूका नाममा रहेको बैंक खातामा पैसा हाल्न लगााएको भेटियो।’

पीडितलाई त्यसरी लोभ्याएर पटक-पटक गरी जम्मा ३४ लाख ५७ हजार रूपैयाँ पठाउन लगाई ठगी गरेपछि उनीहरू सम्पर्कविहीन भएको भनी जाहेरी परेको थियो र सोही जाहेरीका आधारमा टोली परिचालन गरी खोजी थालिएको थियो।

यसरी अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न पाइएपछि कास्कीको माछापुच्छ्रे गाउँपालिका-६ का ३० वर्षीय लक्ष्मण नेपाली र सप्तरीको राजविराज नगरपालिका-४ का ३५ वर्षीय महावीरप्रसाद साहलाई पक्राउ गरी कानूनी कारबाही सुरू भएको पनि उनले बताए।

क्रिप्टो कारोबारमा संलग्न एक व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बूढानीलकण्ठ पासिकोट बस्ने पुरूषोत्तम कार्की छन्। उनीविरूद्ध नेपाल राष्ट्र बैंक ऐनअन्तर्गत कारबाही भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर