चिनियाँ राजदूतलाई फिर्ता गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन

नेपालका लागि चीनका राजदूत छन सोङलाई फिर्ता गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ। सोमबार राष्ट्रिय एकता अभियानले विवादास्पद अभिव्यक्ति दिएका राजदूतका विरूद्ध र्‍याली निकालेको हो।

प्रदर्शनकारीले ‘चिनियाँ राजदूतलाई फिर्ता गर’, ‘चिनियाँ विस्तारवाद मुर्दावाद’, ‘आन्तरिक मामिलामा हस्तक्षेप बन्द गर’, ‘ऋणजाल चाहिँदैन, देश डुबाउन पाइँदैन’ जस्ता नारा लगाएका थिए।

अभियानका केन्द्रीय संयोजक विनय यादवको नेतृत्वमा निकालिएको र्‍याली बबरमहलबाट नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो।

संविधानसभा सदस्य एवम् अभियानका वरिष्ठ नेता बीपी यादवले चीनले तिब्बत र ताइवानजस्तै नेपाललाई उपनिवेश बनाउन खोजेको आरोप लगाए। उनले नेपाल-चीन सम्बन्ध बढाउनुभन्दा पनि नेपाललाई कसरी ऋणको जालमा फसाउने भन्ने विषयमा चिनियाँ राजदूत बढी सक्रिय रहेको आरोप लगाए।

चिनियाँ राजदूत सोङले नेपाललाई भारतसँगको आर्थिक सम्बन्ध घटाएर चीनसँग थप घनिष्ठ हुन सुझाव दिनु अशोभनीय रहेको बताए। नेता यादवले चिनियाँ राजदूतको भनाइले नेपालको आन्तरिक मामिलामा चीनले हस्तक्षेप गर्दै देशको राष्ट्रिय स्वाधीनतालाई खतरामा पारेको बताए।

उनले यस विषयमा नेपाल सरकारलाई कडा कदम चाल्दै चिनियाँ राजदूतलाई फिर्ता पठाउन माग समेत गरे।

अभियानका महासचिव डा. प्रभात कुशवाहाले र्‍यालीको उद्देश्य चिनियाँ राजदूतको विवादास्पद अभिव्यक्तिको विरोध गर्दै नेपाल सरकारलाई चीनसँगको सम्बन्ध पुनरवलोकन गर्न आग्रह गर्नु रहेको बताए। उनले नेपालले चीनको आर्थिक र राजनीतिक प्रभावबाट जोगिन भारतसँगको परम्परागत सम्बन्धलाई बलियो बनाउनुपर्ने बताए।

र्‍यालीमा सहभागी अन्यले पनि चिनियाँ राजदूतको भनाइको निन्दा गर्दै उनलाई फिर्ता पठाउन नेपाल सरकारसँग माग गरेका थिए। उनीहरूले चीनले नेपाललाई उपनिवेश बनाउने र देशको स्वाधीनतालाई खतरामा पार्न खोजेको बताए।

र्‍यालीमा अभियानकी महिला संयोजक रीता साह, मधेस सम्पर्क समिति काठमाडौंका संयोजक विनोद सिंह, सल्लाहकार जयनारायण यादव, अभियानका यूवानेता धीरज गिरी, राष्ट्रिय विद्यार्थी परिषद्का महादचिव पप्पु यादव, अभियानीहरू सूजन यादव, गणेशकुमार सिंह, चन्द्रमोहन सिंहलगायत सहभागी थिए।

चिनियाँ राजदूत सोङले भदौ १६ गते एक सम्बोधनको क्रममा नेपालले भारतसँगको आर्थिक सम्बन्धलाई घटाएर चीनसँग थप घनिष्ट सम्बन्ध राख्न आवश्यक रहेको बताएका थिए।

उनले नेपालले भारतसँगको व्यापारमा घाटा भोग्दै आएको र यसको उत्पादन क्षेत्र संकुचित हुँदै गएको बताएका थिए। उनले चीनबाट नेपालले आर्थिक विकासको पाठ सिक्नुपर्ने बताएका थिए।

उनको भनाइको नेपालमा आलोचना भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *