अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा कस्ता थिए बीपी? यसरी सम्झिए नेताहरूले

नेपाली कांग्रेसका संस्थापक तथा पहिलो जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय विश्वेश्वरप्रसाद कोइरालाको अन्तर्राष्ट्रिय राजनीतिमा उच्च स्थान र कूटनीतिक क्षेत्रमा सन्तुलित योगदान रहेको राजनीतिक दलका नेताहरूले बताएका छन्।

नेपाली कांग्रेसले बीपीको ११० औं जन्मजयन्तीको अवसरमा आइतबारबाट बीपीनगरमा आयोजना गरेको ‘बीपी साहित्य सम्मेलन-२०८०’ को दोस्रो दिन ‘अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बीपी’ विषयमा मन्तव्य राख्दै पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बीपीले लिएको परराष्ट्रनीति सन्तुलित भएकाले आज पनि उत्तिकै उपयोगी भएको बताए।

उनले भने ‘मार्क्स र गान्धीको विचारबाट प्रभावित भएका बीपीको विचारमा माक्र्सवाद र गान्धीको आर्थिक समाजवाद र अहिंसावादी व्यवहार झल्किन्छ। बीपीलाई २०१७ सालमा प्रधामन्त्रीबाट हटाउन देशभित्रकै सामन्तवर्ग र विदेशी शक्तिको साथ र उक्साहटमा तत्कालीन राजा महेन्द्रले भूमिका खेलेका हुन्।’

उनले बीपी अग्रगामी, लोकतान्त्रिक र समाजवादी चरित्रको रहेको भन्दै भारतमा आफ्नै मित्र इन्दिरा गान्धीले संकटकाल लगाएको, सिक्किम भारतमा विलय भएको आदि कारणले राजासँग मेलमिलापको नीति लिएर बीपी नेपाल आएको बताए।

पूर्वप्रधानमन्त्री भट्टराईले बीपीले राष्ट्रियताको विषयमा राजासँग मिलेर जान खोज्ने मेलमिलापको नीति सही भए पनि राजाले विश्वासघात गरेको जनाए। उनले बीपीले अँगालेको सो नीति सफल नभए पनि सही भएको बताए।

उनले नेपालमा दलहरूबीच कुर्सीमा बाहेक सहमति नजुट्नु दुर्भाग्य भएको बताउ। उनले भने, ‘कोही ठूलो मान्छे बन्न खोज्छ भने उसले बलमिच्याइँ गर्छ भनेर बीपी भन्नुहुन्थ्यो।’

नेपाली कांग्रेसका नेता तथा पूर्वपरराष्ट्रमन्त्री डा.नारायण खड्काले बीपीको व्यक्तित्व अन्तर्राष्ट्रिय क्षेत्रमा उच्च र सम्मानित अनि अतुलनीय थियो भन्दै बीपी पट्नाबाट नेपाल आउँदा होस् वा राजाले प्रधानमन्त्रीबाट हटाउँदा बीपीको पक्षमा जनसमर्थन र अन्तर्राष्ट्रिय समर्थन कहिल्यै नदेखेको बताए।

डा. खड्काले भने, ‘राजा महेन्द्रले बीपीलाई अपदस्थ गरेपछि संयुक्त राष्ट्रसंघको महासभामा जाँदा संयुक्त राज्य अमेरिकामा ९३ जना नोबेल प्राइज विजेताले विरोध गरेको घटना ऐतिहासिक छ।’

डा. खड्काले चीनका राष्ट्रपति माओत्से तुङसँगको वार्ता, चीनका प्रधानमन्त्रीसँग सगरमाथा नेपालको हो भनेर दाबी पेस गर्ने बीपीले मुस्ताङमा नेपाली नागरिक मारिँदा माफी मगाई क्षतिपूर्ति गराएको घटना कूटनीतिक क्षेत्रको महत्त्वपूर्ण योगदान भएको बताए।

नेपालमा हालका राजनीतिक दल र नेताले परराष्ट्र क्षेत्रलाई प्राथमिकता नदिँदा देशमा भ्रष्टाचारको मुद्दामा वृद्धि भएको, भद्रगोल र अस्थिरता देखिँदा नेपालले अन्तर्राष्ट्रिय फोरममा आफ्नो भनाइ राख्न नसकेको बताए।

नेकपा (एमाले) का उपमहासचिव तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञावलीले चीनसँग सम्बन्ध राख्दा भारतविरोधी र भारतसँग सम्बन्धलाई निरन्तरता दिँदा चीनविरोधी हुनु पर्दैन भनेर लिएको अडान परराष्ट्र मामिलामा उल्लेखनीय भएको बताए।
ज्ञावलीले भारत र चीनसँगको नेपालको सम्बन्ध राजनीतिकभन्दा व्यापारिक आधारमा हुनुपर्ने नीति लिएको, भारतको अनुचित दबाबलाई बीपीले अस्वीकार गरेको, भारतमै रहँदा प्रजातन्त्रको पक्षमा र नेपालमा आउँदा राष्ट्रियताको पक्षमा देखिने दोधारमा हुँदा बीपीले राष्ट्रियतालाई प्राथमिकता दिएको बताए।

उनले बीपीसँगको राजनीतिक लाइनमा समर्थन जनाउन नसकिए पनि कूटनीतिलाई सबै दलले र मुलुकले सम्मान गर्ने बताए।

कूटनीतिक क्षेत्रकी जानकार इन्द्र अधिकारीले बीपीले संयुक्त राष्ट्र संघको १५ औं साधारणसभामा दिएको अभिव्यक्तिले बीपीलाई विश्व जगतमा चिनाएको बताइन्। ‘बीपीले ठूला शक्ति राष्ट्रले युद्ध र हतियारमा लगानी गरिरहेको भन्दै त्यसको मार साना र अविकिसित देशमा परिरहेकोले धनी र ठूला राष्ट्रले विकासशील राष्ट्रलाई सहयोग गर्नुपर्छ भनेर माग गरेका थिए,’ उनले भनिन्, ‘सो अभिव्यक्तिबाट बीपीको उचाइ एक्कसी अन्तर्राष्ट्रिय क्षेत्रमा प्रभाव जमाउन सकेको थियो।

प्रधानमन्त्री भएपछि चीनको भ्रमणको तयारी हुँदै गर्दा भारतीय प्रधानमन्त्री तथा मित्र जवाहरलाल नेहरूले चीनसँग वार्ता गर्ने विषयमा सुझाव दिँदा अस्वीकार गरेका थिए।

उनले नेहरूको दबाबलाई अस्वीकार गर्दै नेपाल सार्वभौम र स्वतन्त्र देशको हैसितयमा आफ्नो कूटनीति र सम्बन्ध छिमेकीसँग राख्न सक्छ भन्ने जवाफले आफ्नो हैसियत देखाएको बताइन्। उनले चिनियाँ राष्ट्रपति माओत्सेतुङ र प्रधानमन्त्री चाउ एन लाईसँग वार्ता गरेर कूटनीतिक सम्बन्ध विस्तार गरेको स्मरण गर्दै चिनियाँ प्रधानमन्त्रीले गरेको सम्मानलाई आज पनि ऐतिहासिक रूपमा लिने गरिन्छ।

सो कार्यक्रमको सहजीकरण सुधीर शर्माले गरेका थिए भने कार्यक्रमको संयोजन पार्टी केन्द्रीय सदस्य नानु बास्तोला तथा श्रीबाबु कार्की र अमृत ज्ञवलीले गरेका थिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर