संखुवासभा कारागारमा कैदी मृत्यु प्रकरण : असईसहित ७ प्रहरी र ८ कैदी कारागार चलान

सङ्खुवासभा जिल्ला कारागार खाँदबारीमा दुई कैदी हत्या प्रकरणका १५ आरोपितलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । कैदी हत्या प्रकरणमा मुद्दा चलाइएका सात प्रहरी र आठ कैदीलाई पुर्पक्षका लागि बुधबार कारागार चलान गरिएको हो ।

जिल्ला अदालत सङ्खुुवासभाका श्रेस्तेदार रामचन्द्र केसीका अनुसार जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको एकल इजलासले सात प्रहरीलाई धनकुटा र आठ कैदीलाई तेह्रथुम पठाउन आदेश दिएका हुन् । कारागार विभाग र जिल्ला सुरक्षा समितीको समन्वयमा प्रहरीलाई धनकुटा र कैदीलाई तेह्रथुम पठाइएको हो । बुधबार सरकार र प्रतिवादीतर्फका आठ कानून व्यवसायीले बहस गरेका थिए ।

कैदी हत्या घटनामा मोरङको कटहरी गाउँपालिका–१ महेशपुर स्थायी घर भई जिल्ला कारागार खाँदबारीमा कार्यरत प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, इलामको इलाम नगरपालिका-११ स्थायी घर भई खाँदबारी कारागारमा सुरक्षा गार्डमा कार्यरत सुमन गुरूङ, उदयपुरको त्रियुगा नगरपालिका-१४, बाङ्गे स्थायी घर भई खाँदबारी कारागारमा सुरक्षा गार्डमा कार्यरत दमनसिंह राई, खोटाङको खोटेहाङ गाउँपालिका-८ कात्तिके स्थायी घर भई खाँदबारी कारागारमा सुरक्षा गार्डमा कार्यरत प्रहरी हवल्दार राजकुमार श्रेष्ठ, खोटाङको जन्तेढुङ्गा गाउँपालिका-३ स्थायी घर भई खाँदबारी कारागारमा सुरक्षा गार्डमा कार्यरत प्रहरी जवान मनिष राई, सुनसरीको कोशी गाउँपालिका-५ श्रीपुर स्थायी घर भई खाँदबारी कारागारमा सुरक्षा गार्डमा कार्यरत प्रहरी जवान पवनकुमार महतो र उदयपुरको लिम्चुङबुङ गाउँपालिका-४, बलाम्ता स्थायी घर भई खाँदबारी कारागारमा सुरक्षा गार्डमा कार्यरत वर्षीय नुशन राईलाई पुर्पक्षका लागि धनकुटा कारागार पठाइएको छ ।

यस्तै खाँदबारी नगरपालिका-२, चेवा स्थायी घर भई जिल्ला कारागारका बलात्कार कसुरमा कैद भुक्तान गरिरहेका रामबहादुर कार्की, खाँदबारी नगरपालिका-९, गैरीगाउँ स्थायी घर भई जिल्ला कारागारमा बलात्कार कसुरमा कैद भुक्तान गरिरहेका अनिश शर्मा कट्टेल, भोजपुरको भोजपुर नगरपालिका-१०, भैँसीपङ्खा स्थायी घर भई जिल्ला कारागारमा बलात्कार कसुरमा कैद भुक्तान गरिरहेका सचिन राई, मकालु गाउँपालिका-५, सोलाखानी स्थायी घर भई जिल्ला कारागारमा बलात्कार कसुरमा कैद भुक्तान गरिरहेका सुमन सारूमगर, चैनपुर नगरपालिका-३ स्थायी घर भई जिल्ला कारागारमा डाँकाचोरी कसुरमा कैद भुक्तान गरिरहेका टीकाराज चौहान, चिचिला गाउँपालिका–४ खारमेली स्थायी घर भई जिल्ला कारागारमा कर्तव्य ज्यान कसुरमा कैद भुक्तान गरिरहेका नवीनकुमार राई, खाँदबारी नगरपालिका-६, तल्लो पाङ्ठा स्थायी घर भई जिल्ला कारागारमा बलात्कार कसुरमा कैद भुक्तान गरिरहेका इन्द्रध्वज घिमिरे र मादी नगरपालिका-५, वेतिनी स्थायी घर भई जिल्ला कारागारमा बलात्कार कसुरमा कैद भुक्तान गरिरहेका मीनबहादुर तामाङलाई पुर्पक्षका लागि तेह्रथुम कारागार पठाइएको श्रेस्तेदार केसीले जानकारी दिए ।

कारागारको शौचालयको झ्यालको रड काटेर भाग्न खोजेको भन्दै नियन्त्रणमा लिएर सुरूमा प्रहरीले र त्यसपछि अन्य कैदीबन्दीले सामूहिक कुटपिट गर्दा उनीहरूको मृत्यु भएको अनुसन्धानबाट खुलेको छ । मुलुकी अपराध संहिता, २०७४ को दफा ४१, दफा १७७ र दफा १८६ र अपराध पीडित संरक्षण ऐन, ७५ को क्षतिपूर्तिसम्बन्धी व्यवस्था आकर्षित हुने गरी मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालले जनाएकको छ । सबै अभियुक्तविरूद्ध जन्मकैदको मागदाबी गरिएको छ ।

गत साउन २४ गते सङ्खुवासभाको मादी नगरपालिका-५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका-७ का २८ वर्षीय आकाश बलामीको कुटपिटबाट मृत्यु भएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *