प्रतिशोधको भड्खालोमा जकडिएको चीनको सी–सत्ता

दुई कार्यकाल सत्ता सञ्चालन गरेपछि राष्ट्रपति र प्रधानमन्त्रीको कार्यकाल पूरा हुने गरेकामा आफ्नो उत्तराधिकारी अघि बढाउन नसकेका सीले आफ्नै कार्यकाल मात्र लम्ब्याएका छन्।

कम्युनिस्ट मुलुक चीनका संस्थापक माओ त्सेतुङले भनेका थिए– राजनीतिक शक्ति बन्दुकको नालबाट निस्कन्छ। त्यसैले सन् १९४९ मा जनवादी गणतन्त्र चीनको स्थापनापछि माओले पिपल्स लिबरेसन आर्मी (पीएलए) को नियन्त्रण राज्यले होइन, पार्टीले गर्ने सुनिश्चित गरे। त्यसयता, चिनियाँ कम्युनिष्ट पार्टी सीसीपीका नेता केन्द्रीय सैन्य आयोग (सीएमसी) को अध्यक्ष रहने व्यवस्था कायम छ। तिनै माओका पछिल्ला उत्तराधिकारी सी जिनपिङ अहिले चीनमा तेस्रो कार्यकालमा राष्ट्रपतिको भूमिकामा छन्। जसले राष्ट्रपति बनेलगत्तै सीएमसीको अध्यक्षको हैसियतले चिनियाँ सेनाभित्रको विपक्षी खेमालाई निस्तेज बनाइरहेका छन् ।

हङकङको मिङ पाओ समाचार पत्रका अनुसार, अहिले चीनका रक्षामन्त्री हराएका छन्। केही दिनपहिले नवगठित रकेट फोर्सका प्रभावशाली जनरल हराए। ३ महिनाअघि हराएका विदेशमन्त्रीको अत्तोपत्तो छैन। यो सिलसिला कहाँ पुगेर रोकिन्छ भन्न सकिन्न। किनकि सीले सन् २०१४ र २०१५ मा पूर्व सीएमसी भूतपूर्व उपाध्यक्ष सु काइहोउ र पूर्व पिएलए जनरल गुओ बोसियोङलाई भ्रष्टाचारको आरोप लगाएर हिरासतमा थुनेपछि सुरु भएको यो शृंखलामा धेरै प्रभावशाली नेता परिसकेका छन्।

पहिले नै सेवानिवृत्त भइसकेका नेताहरूलाई निसाना बनाएर सीले चिनियाँ जनमुक्ति सेनामा कायम रहेको ठानिएको भूतपूर्व चिनियाँ नेता जियाङ जेमिनको प्रभावलाई कम गराएका थिए। ‘अहिले चीनमा चलिरहेको सैन्य तथा राजनीतिक व्यक्तित्व निसानामा पर्ने शृंखला यस्तै प्रभुत्व कायम राख्ने तथा प्रभुत्व नामेट पार्ने खेल हो,’ पेन्टागनद्वारा अनुदानप्राप्त नेसनल डिफेन्स युनिभर्सिटीका सिनियर फेलो जोअल वुथ्नोले भनेका छन्, ‘पछिल्ला घटनाले सीको नियन्त्रणको प्रतिरोध गर्ने सैन्य अधिकारी कोही पनि कष्टमुक्त छैन भन्ने प्रस्ट हुन्छ।’

रक्षामन्त्री अथवा विदेशमन्त्री एकाएक बेपत्ता हुनुले, प्रतिरोध गर्ने जो कोहीलाई जुनसुकै बेला नियन्त्रणमा लिएर कारबाही चलाउन सकिन्छ भन्ने सन्देश राष्ट्रपति सीले दिइरेका छन् । उनले सन् २०१५ मा कर्मचारी, राजनीति, रसद र हतियारसम्बन्धी चार वटा सैन्य मुख्यालयलाई खारेज गरेर १५ साना एजेन्सीहरूमा परिवर्तन गरेपछि निरन्तर सेनाको संरचना परिमार्जन गरेका छन्। सैन्य अधिकारीमाथि निगरानी बढाइरेका छन् ।
‘वित्तीय लेखापरीक्षकहरू समेत सीएमसी मातहतमा रहने भएपछि प्रतिकूलका व्यक्तिहरूलाई भ्रष्टाचारजन्य कसुर लगाएर हिरासतमा राख्नु अनौठो भएन,’ वरिष्ठ अन्तर्राष्ट्रिय रक्षा अध्ययनकर्ता टिमोथी हिथ भन्छन्, ‘सीको विरोध गर्न सक्ने सम्भावना भएका पिएलएका अधिकांश नेता निसानामा छन्। उदीयमान वरिष्ठ चिनियाँ नेता सुन झेङ काई यही निसानामा परेका थिए। कुनै बेला चीनको केन्द्रीय नेतृत्व सम्हाल्ने दाबेदार नेताका रुपमा चर्चामा आएका सुन अहिले गुमनाम छन्।

सीले तीन कार्यकाल पूरै मुलुकको नेतृत्व गर्दा देखाएको निर्विवाद नेतृत्व र अतुलनीय शक्ति दुरुपयोग अर्को ४ वर्षपछि छताछुल्ल हुन सक्छ। बन्द कोठाभित्र हुने महत्वपूर्ण निर्वाचनबाट चीनले आगामी नेतृत्व चुन्दा तत्काल नयाँ पुस्ताका नेता अगाडि सार्ने सम्भावना अहिले देखिएको छैन। नेता सुन, वान तथा बो सीजस्तै राष्ट्रपति सी प्रति अनुदार देखिएका नयाँ पुस्ताका थुप्रै नेताले पूर्वाग्रही ढंगले एक्कासि पद गुमाएका छन्। भ्रष्टाचारको दाग लगाइएको छ। यसले विष्फोटक रुप लिन सक्छ।

चीनको राज्य सञ्चालनमा शक्तिशाली सात सदस्यीय पार्टी स्थायी समितिको सदस्यका प्रबल दाबेदार मानिएको बेला उनीविरुद्ध गम्भीर अनुशासन उल्लंघनको छानबिन चल्यो र चर्चित चोङकिङ महानगरमा चिनियाँ कम्युनिस्ट पार्टी प्रमुखबाटै उनको राजनीति सिध्याइयो। त्यसबेला चिनियाँ कम्युनिस्ट पार्टीको महत्वपूर्ण बैठकमा राष्ट्रपति सी र प्रधानमन्त्री ली खछियाङका सम्भावित उत्तराधिकारी भनेर चर्चा बटुलिरहनुभएका सुन पार्टीको पोलिटब्युरोका सबैभन्दा कान्छा सदस्य हुनुहुन्थ्यो। चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरोमा २५ सदस्य हुन्छन्। पोलिटब्युरोभन्दा माथि शासन सञ्चालनमा सबैभन्दा शक्तिशाली सात सदस्यीय स्थायी समिति मात्र हुन्छ।

सीको प्रतिरोध गर्ने नेता सबै निसानामा

हङकङको मिङ पाओ समाचार पत्रका अनुसार चीनको चर्चित महानगर चोङ किङका प्रभावशाली र उदाउँदा पार्टी प्रमुख बो सिलाई सी राष्ट्रपति बनेपछि एकाएक भ्रष्टाचारजन्य कसुर र एक बेलायती व्यापारीको हत्या अभियोगमा मृत्युदण्डको सजाय दिइयो। बोलाई हत्या र भ्रष्टाचारको आरोपमा सन् २०१३ मा सबै जिम्मेवारीबाट निलम्बन गरी जन्मकैदमा परिवर्तन गरियो तर उनको अवस्था त्यसयता अज्ञात छ। त्यसपछि सीलाई केन्द्रीय राजनीतिमा चुनौती दिनसक्ने ठानिएको अर्का उदीयमान वरिष्ठ चिनियाँ नेता सुन झेङ काई त्यस्तै निसानामा परे। पोलिटब्युरो सदस्य बनिसकेका प्रभावशाली नेता सुन झेङ काईनिकट थुप्रै सैन्य वरिष्ठ अधिकारी अहिले पनि सेवामा छन्। तर उनीहरू सबै निगरानीमा छन्।

लगत्तै चिनियाँ कम्युनिष्ट पार्टीका अर्का उदीयमान युवा नेता वान खिङ ली आङमाथि भ्रष्टाचारको अभियोग लाग्यो। पार्टी अनुशासन आयोगले वानले ‘गम्भीर अनुशासन उल्लंघन’ गरेको आशंकामा छानबिन थालिएको जनाएपछि उनी एकाएक बेपत्ता भए । चिनियाँ कम्युनिस्ट पार्टीका उदीयमान नेताका रुपमा हेरिएका सबैभन्दा कम उमेरमा मेयर मितव्ययिताको नीतिका कारण वान ग्वाङ झाओ नगरमा निकै सम्मानित युवा मानिन्थे। तर सी प्रशासनको निसानामा परे।

सीले सत्तामा आएको दुई वर्षपछि आन्तरिक सुरक्षा मामिलाका पूर्वप्रमुख झु योङ काङलाई पनि भ्रष्टाचारको अभियोगमा गिरफ्तार गराएका थिए। उनी चीनको राजनीतिमा बो सिलाई निकट र सीको प्रतिद्वन्द्वी नेता मानिन्छन्। उनको अवस्था पनि अहिले अज्ञात नै छ।

समाचारअनुसार सन् २०१२ मा राष्ट्रपति नियुक्त भएलगत्तै पार्टीमा, प्रशासनमा र सेनामा ठूलो ओहदामा पुगेका हरेक व्यक्तिलाई लक्षित गरेर भ्रष्टाचारविरुद्ध अभियान चलाइरहेका सीले सम्भावना बोकेका सयौं प्रतिस्पर्धीलाई पक्राउ गराएकै कारण तेस्रोपटक राष्ट्रपति बन्दासमेत प्रमुख नेता (राष्ट्रपति र प्रधानमन्त्री) सत्ताबाट बाहिरिएपछि कसले शासनसत्ता सम्हाल्छ भन्ने भरपर्दो उत्तराधिकारी जन्मिएको छैन।

चीनमा प्रायः १० वर्ष अर्थात् दुई कार्यकाल सत्ता सञ्चालन गरेपछि राष्ट्रपति र प्रधानमन्त्रीको कार्यकाल पूरा हुने गरेकामा आफ्नो उत्तराधिकारी अघि बढाउन नसकेका सीले आफ्नै कार्यकाल मात्र लम्ब्याएका छन्। बेलायती सञ्चारमाध्यम बिबिसीका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीमा नेतृत्व हत्याउने तीव्र होड छ। तर नेतृत्व हस्तान्तरण सहज छैन। आधिकारिक रुपमा चिनियाँ जनकांग्रेसले कुनै घोषणा नगर्दासम्म जे पनि हुन सक्छ, जो पनि नेतृत्वमा आउन सक्छ।

बोस्टन विश्वविद्यालयका विज्ञ प्राध्यापक जोसेफ फ्युस्मिथ भन्छन्, ‘सीले तीन कार्यकाल पूरै मुलुकको नेतृत्व गर्दा देखाएको निर्विवाद नेतृत्व र अतुलनीय शक्ति दुरुपयोग अर्को ४ वर्षपछि छताछुल्ल हुन सक्छ। बन्द कोठाभित्र हुने महत्वपूर्ण निर्वाचनबाट चीनले आगामी नेतृत्व चुन्दा तत्काल नयाँ पुस्ताका नेता अगाडि सार्ने सम्भावना अहिले देखिएको छैन। नेता सुन, वान तथा बो सीजस्तै राष्ट्रपति सी प्रति अनुदार देखिएका नयाँ पुस्ताका थुप्रै नेताले पूर्वाग्रही ढंगले एक्कासि पद गुमाएका छन्। भ्रष्टाचारको दाग लगाइएको छ। यसले विष्फोटक रुप लिन सक्छ। अहिले राष्ट्रपति सीले राजनीतिक तथा सैन्य मोर्चामा रहेका माथिल्लो तहका अधिकारीको बफादारितामा शंका गरी राजनीतिक षडयन्त्र गरिरहेका छन्, यो प्रत्युत्पादक बन्न सक्छ।’

पार्टीको शक्तिशाली निर्णायक निकाय पोलिटब्युरो र स्थायी कमिटीका सदस्यहरू नै फौजदारी अभियोग र दण्ड सजायको भागिदार बन्न थालेपछि चीनको राजनीतिमा भ्रष्टाचारविरोधी अभियानले सी–धारका राजनीतिक प्रतिस्पर्धी र अन्य गुटहरू निस्तेज बनेका छन्। अन्तर्राष्ट्रिय रुपमा ख्याती कमाएका वरिष्ठ चीन विश्लेषक नील टमसका अनुसार सीले सत्तामा पुग्दा जो–जोसँग सम्झौता गर्नुभएको थियो, कम्युनिस्ट पार्टीभित्रका ती पुराना नेता नै सीको सत्ता कब्जा गर्ने अभियानका क्रममा किनारामा पुगिसकेका छन्। अहिले ४७ लाखभन्दा बढी चिनियाँ भ्रष्टाचारविरोधी अनुसन्धानमा तानिएका छन्। यसले कम्युनिस्ट सत्ता कति भ्रष्ट भइरहेको छ भन्ने पुष्टि गर्छ। यो अभियानका बीचमा पनि अहिले चीनको सुरक्षा निकायहरूमा त्यस्ता अधिकारीहरू मात्र छन् जो सीको विश्वासपात्र मानिन्छन्।

अर्बपतिहरू पनि निरन्तर बेपत्ता

चीनमा सी जिनपिङ नेतृत्वमा आएपछि वरिष्ठ सैन्य अधिकारी र प्रभावशाली नेता मात्रै होइन, थुप्रै अर्बपति बेपत्ता भएका छन्। केही समयअघि चिनियाँ प्रविधि उद्योगमा चर्चामा आएका बाओ फ्यान बेपत्ता भए। यो अर्बपति व्यवसायी हराउने शृंखलाको अर्को घटना थियो। चाइना रेनासान्स होल्डिङ्सका संस्थापक बाओ फ्यान बेपत्ता हुनुअघि चीनको प्रशासनले उनको व्यवसायमाथि अनुसन्धान चलाइरहेको समाचार बाहिरिएको थियो। तर कुन सरकारी निकायले के अनुसन्धान गरिरहेको थियो त्यो सार्वजनिक नभई उनी लामो समय बेपत्ता भए।

चाहेर अथवा नचाहेर आर्थिक उदारीकरणको बाटोमा गइसकेको चीनमा अहिले अर्बपतिहरूको समूह ठूलो छ। जसले बन्दुकको नालबाट राजनीतिक शक्ति आर्जन हुन्छ भन्ने माओ त्सेतुङको पदचाप पच्छ्याइरहेका सीलाई आफ्नो सम्पत्तिको बलमा शक्ति आर्जन हुन सक्छ भन्ने धक्का दिन सक्ने त्रासले लखेटेको हुन सक्छ।

चीनका अर्का अर्बपति अलिबाबाका ज्याक मा पनि यसैगरी चार महिना बेपत्ता भएका थिए। चीनको अर्थतन्त्रमा आफ्नो नियन्त्रण बढाउने राष्ट्रपति सीको नीतिकै कारण उनी नेतृत्वमा आएपछि, चीनको फोसुन समूहका संस्थापक गुओ ग्वान चाङ सन् २०१५ मा कैयौँ दिन हराएका थिए। सी प्रशासनले इङ्लिस प्रिमियर लिगको एउटा क्लबको स्वामित्व लिएको समाचार बाहिरिएलगत्तै अर्बपति गुओ ग्वान चाङलाई निगरानीमा राखेको थियो। पश्चिमा मुलुकमा समेत चिनिएका चिनियाँ व्यवसायी गुओ ग्वान चाङ हराएको दुई वर्षपछि सरकारी अनुसन्धान प्रक्रियामा सघाइरहेको बताउने चिनियाँ–क्यानेडियन व्यवसायी स्यो जिअन ह्वा हङकङको एउटा होटेलमा पक्राउ परे।

चीनका सबैभन्दा धनी व्यवसायीको शीर्ष सूचीमा रहेका उनलाई हङकङकेन्द्रित व्यवसाय गरेको आरोप लगाइएको थियो। तर अहिले उनलाई भ्रष्टाचारको आरोपमा जेलमा हालिएको छ। लगत्तै सन् २०२० को मार्चमा कोरोना महामारीले चीनको अर्थतन्त्र ओरालो लाग्यो। त्यहीबेला राष्ट्रपति सीको कोभिड व्यवस्थापनको आलोचना गर्ने चीनका घरजग्गा व्यवसायी रेल जिच्याङ बेपत्ता पारिए। अहिले उनी सीको आलोचना गरेकै कारण त्यही भ्रष्टाचारजन्य कसुरको आरोपमा १८ वर्षको जेल सजाय काटिरहेका छन् ।

रेल जिच्याङलाई जेल हालेलगत्तै चीनका सफल व्यापारिक समूह अलिबाबाका संस्थापक ज्याकमा हराएका थिए। उनी सन् २०२० को अन्त्यमा चीनमा डिजिटल कारोबार कम्पनी एन्ट फाइनान्सियल सेयर बजारमा सूचीकृत गर्ने तयारीमा थिए। तर सी प्रशासनले नियन्त्रणमा लियो। झन्डै दुई वर्ष सार्वजनिक जीवनमा कतै नदेखिएका ज्याक मा अहिले पूर्ववत् व्यवसायमा फर्किएका छन्। तर उनी बेपत्ता हुनुको कारण खुलाएका छैनन् ।

चाहेर अथवा नचाहेर आर्थिक उदारीकरणको बाटोमा गइसकेको चीनमा अहिले अर्बपतिहरूको समूह ठूलो छ। जसले बन्दुकको नालबाट राजनीतिक शक्ति आर्जन हुन्छ भन्ने माओ त्सेतुङको पदचाप पच्छ्याइरहेका सीलाई आफ्नो सम्पत्तिको बलमा शक्ति आर्जन हुन सक्छ भन्ने धक्का दिन सक्ने त्रासले लखेटेको हुन सक्छ। त्यसैले रहस्यमयी ढंगले चीनका अर्बपति व्यवसायी अनि उच्च राजनीतिक सम्भावना बोकेका राजनीतिक पुस्ता एकपछि अर्को गर्दै सीको निसानामा परिरहेका हुन सक्छन्। वर्तमान रक्षामन्त्री अथवा पूर्वविदेश मन्त्री त्यसैको एउटा अध्याय हो।

 

श्रोत: कृष्ण तिमल्सिना/आइएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *