राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री दाहाल अमेरिका प्रस्थान (तस्बिरहरू)

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका प्रस्थान गरेका छन्। न्यूयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिन प्रधानमन्त्री दाहाल शनिबार साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरलाइन्सको फ्लाइटद्वारा त्यसतर्फ गएका हुन्।

उनलाई प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायत मन्त्रीहरू तथा नेताहरूले बिदाइ गरेका थिए।

प्रधानमन्त्री दाहालले आगामी असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

विश्व समुदायको विश्वास पुनः जागृत गर्ने तथा शान्ति, समृद्धि र सबैको दिगोपनाका निम्ति दिगो विकासका लक्ष्य हासिल गर्ने ऐक्यबद्धताबारे उनले मन्तव्य व्यक्त गर्ने छन्। आगामी आसोज २ गते राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री दाहाल सहभागी हुने छन्।

न्यूयोर्कमा रहँदा दाहालले संयुक्त राष्ट्रसंघको दिगो विकास र जलवायुसम्बन्धी शिखर सम्मेलनलगायत कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ। उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेससँग भेटवार्ता गर्नुका साथै विभिन्न देशका आफ्ना समकक्षीसँग भेट गर्ने मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्रसचिव भरतराज पौड्याल र मन्त्रालयका अन्य वरिष्ठ अधिकारी छन्।

प्रधानमन्त्री दाहाज असोज ५ गते अमेरिकाबाटै चीन जाने कार्यक्रम छ।

चीन भ्रमणका क्रममा ऊर्जा, भौतिक पूर्वाधार, यातायात, कृषिलगायत विषयमा दुईपक्षीय छलफल र समझदारी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर