गैह्रीगाउँमा एकै व्यक्तिले चार जनाको हत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष

काठमाडौं महानगरपालिका-३२, तीनकुनेस्थित गैह्रीगाउँमा शुक्रबार राति भएकाे एकै परिवारका तीनसहित चार जनाको हत्यामा एकै व्यक्ति संलग्न देखिएको प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ।

घटनास्थलको सीसीटीभी फुटेजमा देखिएका एक युवकलाई प्रहरीले आइतबार पक्राउ गरेको छ। हत्यामा उनको मात्रै संलग्नता देखिएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

प्रहरी उच्च स्रोतका अनुसार उनलाई आइतबार बिहान लोकन्थलीबाट पक्राउ गरिएको हो। पक्राउ परेका युवकको परिचय खुलाइएको छैन। यसबारे पत्रकार सम्मेलनमार्फत जानकारी दिने तयारी गरेको छ।

यसअघि तीनकुने बस्ने २८ वर्षीय दीपेन्द्र राई शुक्रबार राति आफैं प्रहरी वृत्त बानेश्वर पुगेर घटनाबारे जानकारी दिएका थिए।

शरीरमा रगत लागेको अवस्थामा प्रहरी कार्यालय पुगेका उनको भने घटनामा संलग्नता नदेखिएको प्रहरी स्रोतको दाबी छ। उनीसहित केहीलाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछसमेत गरेको थियो।

शुक्रबार राति ११:५५ बजे गैह्रीगाउँस्थित दिव्य सःमिलभित्र काठले बनेको टहरामा धारिलो हतियार प्रहार गरी चार जनाको हत्या भएको अवस्थामा शव फेला परेको थियो।

दोलखा घर भई सःमिलमा सुरक्षा गार्डको काम गर्ने ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती ५० वर्षीया अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङको बेलबारी घर भई मिलमा बस्दै आएका २५ वर्षीय नवीन राईको हत्या भएको थियो।

प्रहरीले घटनाको अनुसन्धान गर्ने क्रममा शनिबार मात्रै हत्यामा प्रयोग भएको धारिलो हतियार दाउ बरामद गरेको थियो।

घटनाको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा गठित पाँच सदस्यीय समितिले अनुसन्धान गरिरहेको छ।

हत्या गरिएको अवस्थामा भेटिएका चारै जनाको शव पोष्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर