कराएर वरदान माग्नुपर्ने स्थानापति बुढा महादेव मन्दिर

मध्यको पशुपति भनेर चिनिने रामेछापको मन्थली नगरपालिका-९, पुरानागाउँ बाहुनचुरामा रहेको स्थानापति बुढा महादेवको दर्शन र महादेव मन्दिर घुम्न जाने मानिसहरूको संख्या बढ्दै गएको छ ।

काठमाडौंका पशुपति र पूर्वका पशुपति भनेर चिनिने हलेसी महादेवको बीचमा पर्ने भएकाले बुढा महादेवलाई मध्यका पशुपति भनेर पुकार्ने गरिएको स्थानीय प्रकाश पुरी बताउँछन् ।

डाँडाको टुप्पामा रहेको महादेव मन्दिर दृश्यावलोकनका लागि पनि त्यतिकै रमाइलो छ । मन्दिरको तलसम्म सडक र सडकबाट मन्दिरसम्म जान सिँढी बनाएपछि बुढा महादेव मन्दिर जिल्लाको आकर्षक गन्तव्यस्थल बनेको छ ।

स्थानापति महादेव मन्दिरमा जाने दुईवटा बाटो छन् । एउटा सदरमुकाम मन्थलीबाट चिसापानी हुँदै पुरानागाउँ निस्किएर जाने बाटो छ । यो बाटो जाँदा चिसापानीको भीमसेनस्थान तथा ऐतिहासिक चिसापानी गढी समेत अवलोकन गर्न पाइन्छ । पैदल हिँडेर जानेको लागि गाईखुरादेखि भिमसेनस्थानसम्म सिँढी हालिएको छ । भिमसेनस्थानबाट चिसापानी गढी निस्किएर महादेवस्थान जान मिल्छ । मन्थलीबाट यातायात साधन लिएर सोझै जाने हो भने डेढ घण्टामा महादेव मन्दिर पुगिन्छ । पैदल जाँदा भने तीन घण्टा लाग्छ ।

मन्दिरमा जाने अर्को मन्थलीबाट देवीटार हुँदै पोखरी डाँडा पुगेर झर्ने बाटो छ । फुर्सद निकालेर घुम्न जानेको लागि भने बुढा महादेवको मन्दिरबाट शैलुङ निस्कने बाटो छ । मन्थलीबाट स्थानापति दर्शन गरेर शैलुङ जान मिल्छ । त्यहाँबाट खाँडादेवी निस्किएर काठमाडौं जान वा मन्थली निस्कन मिल्छ । खाँडादेवी हुँदै, शैलुङबाट झरेकाको लागि स्थानापति दर्शन गरेर मन्थली झर्न वा दोलखा जान पनि मिल्छ ।

सो मन्दिरमा आजकल दैनिक जसो मानिसहरू दर्शन गर्न र घुमघामको लागि जाने गर्दछन् । हरितालिका तिज, ठूली एकादशी र महाशिवरात्रिमा भने मन्दिरमा विशेष मेला लाग्ने गर्दछ । सो मेलमा रामेछापलगायत दोलखा, सिन्धुली, सर्लाही, महोत्तरी, ओखलढुंगा, काभ्रे, काठमाडौं लगायतका स्थानबाट दर्शनार्थी आउने गर्दछन् । ‘अहिले मन्दिर आउने भक्तजन बढेका छन्, चाडपर्वमा मात्रै होइन अरू बेला दर्शनका लागि आउने भक्तजन पनि बढेका छन्,’ उनले भने ।

स्थानापति महादेवलाई आशुतोष अर्थात् जे माग्यो त्यही दिने भगवानको रूपमा लिइन्छ । तर, स्थानापति महादेवसँग वरदान माग्दा भने मनमनै वा सानो स्वरले मागेर हुँदैन । ठूलो स्वरले कराएर वरदान माग्नुपर्छ । त्यसैले यी महादेवलाई बहिरा महादेव भनेर पुकारिन्छ । यो मन्दिरमा मानिसहरू प्राय सन्तान प्राप्तिको कामना गर्दै पूजा गर्न पुग्ने गर्दछन् । पशु वस्तु नफस्टाएमा दाम्लो लिएर गई महादेव मन्दिर आसपासको ढुंगा बाँधेर डोहोर्‍याउँदै लैजाने प्रचलन रहेको बोहराले बताए ।

पहिला मन्दिरमा जाने बाटो निक्कै अप्ठेरो थियो । तर अहिले मन्थली नगरपालिकाले मन्दिरको फेदीबाट मन्दिरसम्म आकर्षक सिँढी बनाएको छ । जसले गर्दा मन्दिरमा पुग्न सहज भएको छ भने मन्दिरमा जाने बाटो पनि आकर्षक देखिन्छ ।

मन्दिरमा आफैं उत्पत्ति भएको महादेवको मूर्ति छ । पहिला त्यतिकै रहेको मूर्तिलाई अहिले मन्दिर बनाएर संरक्षण गरेको छ ।

काठमाडौंदेखि दोलखासम्मका तीर्थयात्रालाई यो मन्दिरसँग पनि जोड्ने हो भने अझ दर्शनार्थी बढ्ने देखिन्छन् । काठमाडौंबाट दुम्जाको आदिलिंगेश्वर महादेव, त्यहाँबाट खाँडादेवी, खाँडादेवीबाट शैलुङ, शैलुङबाट स्थानापति हुँदै दोलखा भीमसेन र कालिञ्चोकसम्मको तीर्थयात्राको रूट बनाउने हो भने तीर्थयात्रीले पनि विभिन्न धार्मिक तीर्थस्थलको दर्शन गर्न पाउने र यो तीर्थस्थलको पनि प्रचारमा सहयोग पुग्ने देखिन्छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर