प्रधानमन्त्री र श्रीलङ्काका राष्ट्रपतिबीच भेट

संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिनका लागि न्यूयोर्कमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमसिङ्घेबीच मङ्गलबार न्यूयोर्कमा भेट भएको छ ।

भेटका अवसरमा प्रधानमन्त्री दाहाल र राष्ट्रपति विक्रमसिङ्घेबीच नेपाल र श्रीलङ्काको द्विपक्षीय सम्बन्ध विस्तार तथा बहुपक्षीय सहकार्यका बारेमा छलफल भएको न्यूयोर्कस्थित नेपाली नियोगले जनाएको छ ।

प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिन ३० भदौंको साँझ न्यूयोर्क प्रस्थान गरेका थिए । प्रधानमन्त्री दाहालले असोज ४ गते महासभालाई सम्बोधन गर्नेछन् ।

विश्व समुदायको विश्वास पुनः जागृत गर्ने तथा शान्ति, समृद्धि र सबैको दिगोपनाका निम्ति दिगो विकासका लक्ष्य हासिल गर्ने ऐक्यबद्धताबारे उनले मन्तव्य व्यक्त गर्ने छन्। राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री दाहाल सहभागी भएका छन् ।

न्यूयोर्कमा रहँदा दाहालले संयुक्त राष्ट्रसंघको दिगो विकास र जलवायुसम्बन्धी शिखर सम्मेलनलगायत कार्यक्रमलाई सम्बोधन गरे। उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेससँग भेटवार्ता गर्नुका साथै विभिन्न देशका आफ्ना समकक्षीसँग भेटघाट गरिरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधनपश्चात् प्रधानमन्त्री प्रचण्ड असोज ५ गते न्यूयोर्कबाटै चीनको औपचारिक भ्रमणका लागि प्रस्थान गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्रसचिव भरतराज पौड्याल र मन्त्रालयका अन्य वरिष्ठ अधिकारी छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर