भारत र क्यानडाबीचकाे तनावमा किन डराइरहेका छन् पश्चिमा देशहरू?

पछिल्लो समय भारत र क्यानडाबीचको सम्बन्धमा तनाव बढ्दै गएको छ। त्यसयता पश्चिमा देशका मन्त्री र अधिकारीहरूले भारत र क्यानडाबीचको बिग्रँदै गएको सम्बन्धले अन्तर्राष्ट्रिय सम्बन्धमा असर नपरोस् भनेर कडा मेहनत गरिरहेका छन्।

अमेरिका र अन्य पश्चिमी शक्तिहरू यो विवादलाई भारतबाट टाढा बनाउन चाहँदैनन्। भारत अन्तर्राष्ट्रिय राजनीतिको चेस बोर्डमा एक प्रमुख खेलाडी हो।

भारतको बढ्दो प्रतिष्ठा
भारत एक उदीयमान शक्ति मात्र होइन, यो विश्वको सबैभन्दा धेरै जनसंख्या भएको र विश्वको पाँचौं ठूलो अर्थतन्त्र भएको देश पनि हो। पश्चिमा देशहरूले भारतलाई चीनको विरूद्धमा सम्भावित सुरक्षा पर्खालको रूपमा हेरेका छन्।

भारतमा हालै भएको जी-२० शिखर सम्मेलनमा पनि यो देखियो। सम्मेलनका क्रममा जारी गरिएको संयुक्त विज्ञप्तिमा युक्रेनमा भएको आक्रमणको निन्दा गरिएको छ तर रूसको नाम भने लिइएको छैन।

युक्रेनका पश्चिमी सहयोगीहरूले पनि यसमा सहमति जनाएका छन्। यो भनाइलाई लिएर विवाद सिर्जना गर्नुको साटो उनीहरूले भारतसँगको सम्बन्ध जोगाउन प्राथमिकता दिएका छन्। यद्यपि, यसले युक्रेनका केही मानिसहरूलाई पनि चिढ्याएको थियो।

पश्चिमा देशहरूमा दोस्रो डर भनेको क्यानडा र भारतबीचको विवादमा केही देशहरूले पक्ष लिन थाल्नेछन्। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले यही वर्ष जुनमा पश्चिमी क्यानडामा खालिस्तान समर्थक हरदीप सिंह निज्जरको हत्याको पछाडि भारत रहेको आरोप लगाएका छन्। उनको बयानपछि दुई देशबीच तनाव बढेको छ।

विश्व राजनीतिमा भारत के गर्दै छ?
पछिल्ला केही महिनादेखि भारतले विकासोन्मुख देशहरूमा आफूलाई नेताको रूपमा स्थापित गर्ने प्रयास गरिरहेको छ। यी देशहरूलाई कहिलेकाहीँ ग्लोबल साउथको रूपमा पनि प्रस्तुत गरिन्छ।

अमेरिका र केही युरोपेली देशहरूले यी देशहरूलाई जित्न वास्तविक कूटनीतिक प्रयास गरिरहेका छन्। ती देशले उनीहरूलाई युद्धले उनीहरू र तिनका अर्थतन्त्रलाई असर गर्ने बताइरहेका छन्।

कूटनीतिज्ञहरूले भारत र क्यानडाको बिग्रँदै गएको सम्बन्धले उनीहरूको प्रयासलाई असर नपरोस् भन्ने चाहन्छन्। क्यानडाका विदेशमन्त्रीले जस्टिन ट्रुडोले अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायती प्रधानमन्त्री ऋषि सुनकसँग यो विषय उठाएको बताए। हाल क्यानडाका सहयोगीहरू उसको साथमा छन् तर सतर्क पनि देखिएका छन्।

के भन्छन् पश्चिमा देशहरू?
ह्वाइट हाउसले हत्याको आरोपप्रति अमेरिका निकै चिन्तित रहेको बताएको छ। उसले क्यानडाको अनुसन्धान अगाडि बढ्नु र अपराधीहरूलाई न्यायको कठघरामा ल्याउनु महत्त्वपूर्ण ठानेको छ।

सिख समुदायको बाहुल्यता रहेको बेलायत र अष्ट्रेलियाजस्ता देशहरूमा यस्ता कूटनीतिक विवादले उनीहरूको घरेलु राजनीतिलाई प्रभाव पार्ने सम्भावना हुन्छ। बेलायतका विदेशमन्त्री जेम्स क्लेभरलीले आफ्नो देशले क्यानडाले उठाएका गम्भीर चिन्तालाई गम्भीरतापूर्वक लिएको बताएका छन्।

उनले बीबीसीलाई भने, ‘मैले सोमबार क्यानडाली विदेशमन्त्री मेलानी जोलीसँग यी आरोपहरूबारे कुरा गरेको थिएँ। मैले क्यानडाले भनेको कुरालाई बेलायतले गम्भीरताका साथ लिएको बताएँ।’

उनले भारतसँगको व्यापार वार्ता स्थगित गर्ने विषयमा केही बोल्न मानेनन्। तर बेलायतले कुनै निर्णय गर्नुअघि क्यानडाको अनुसन्धान पूरा नभएसम्म पर्खने बताएको छ। उनले भने, ‘क्यानडा र भारत दुवै बेलायतका घनिष्ठ मित्र हुन्, राष्ट्रमण्डलमा पनि सहयोगी छन्।’

अष्ट्रेलियाको विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन्, ‘आफ्नो देश यी आरोपहरूप्रति धेरै चिन्तित छ र भारतलाई आफ्नो चिन्ताबारे जानकारी गराएको छ।’

पश्चिमा देशहरू के गर्दै छन्?
अहिलेका लागि पश्चिमी देशहरू पर्खने मुडमा देखिएका छन्। अनुसन्धानको प्रगतिमा उनीहरूले विशेष ध्यान दिएका छन्। केही सहयोगी देशहरूलाई क्यानडाको खुफिया जानकारीमा पहुँच दिइन्छ। क्यानडाको आरोपको ठोस प्रमाण फेला पर्‍याे भने स्थितिमा के परिवर्तन हुन्छ?

यदि यसो भयो भने पश्चिमा देशहरूले क्यानडा र भारतमध्ये एक रोज्नुपर्नेछ। यो विधिको शासनको सिद्धान्त र राजनीतिक औचित्यलाई समर्थन गर्नेबीचको छनोटजस्तै हुनेछ। यसअघि पनि रूस वा इरान वा साउदी अरबले अन्य देशमा हत्या गरेको आरोपको पश्चिमा राष्ट्रहरूले निन्दा गरेका छन्। उनीहरू भारतलाई यो सूचीमा समावेश गर्न चाहँदैनन्।

-बीबीसीमा प्रकाशित समाचारको नेपाल न्यूज बैंकले गरेको भावानुवाद

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर