पाकिस्तानमा मनाइयाे नेपालको संविधान दिवस

नेपालको नवौं संविधान दिवसका उपलक्ष्यमा पाकिस्तानको इस्लामावादस्थित नेपाली राजदूतावासले स्वागत समारोह आयोजना गरेको छ।

इस्लामिक गणतन्त्र पाकिस्तानका लागि नेपालका राजदूत तापस अधिकारीले नेपालको इतिहासमा यो दिनको सर्वाेच्च महत्त्वलाई जोड दिँदै समारोहमा उपस्थित अतिथिहरूलाई स्वागत गरेका थिए।

उनले नेपालको संविधानले लोकतन्त्र, मानवअधिकार, शान्ति, प्रगति, समानता र समानताका आधारभूत सिद्धान्तलाई राष्ट्रको मूल्यमान्यताको आधारशिलाका रूपमा समेटेको बताए।

नेपाल-पाकिस्तान सम्बन्धका बारेमा बोल्दै राजदूत अधिकारीले न्यानो मित्रता र सहयोगको विशेषता रहेको बलियो द्विपक्षीय सम्बन्धमा जोड दिए। उनले आपसी हितका लागि सम्बन्धलाई थप विस्तार र सुदृढीकरण गर्नुपर्नेमा जोड दिए।

राजदूत अधिकारीले प्राकृतिक र सांस्कृतिक सौन्दर्य र विविधतालाई जोड दिँदै नेपाल पर्वतारोहण् र साहसिक पर्यटनको हब भएको बताए। उनले पर्यटकहरूलाई नेपालले प्रदान गर्ने साहसिक कार्य र अन्य विभिन्न गतिविधिहरू हेर्न आउन निमन्त्रणा दिए।

इस्लामिक गणतन्त्र पाकिस्तानको योजना, विकास र विशेष पहलमन्त्री मोहम्मद सामी सइद कार्यक्रमका प्रमुख अतिथि थिए।

उनले पाकिस्तानका प्रधानमन्त्री र सरकारको तर्फबाट नेपाल सरकार र जनतालाई बधाई तथा शुभकामना व्यक्त गरे। मन्त्री सइदले नेपाल र पाकिस्तानबीचको बलियो द्विपक्षीय सम्बन्धको पनि प्रशंसा गरे।

सिनेट डिफेन्स कमिटीका अध्यक्ष सिनेटर मुशाहिद हुसेन सैयदले नेपाल-पाकिस्तान सम्बन्धका बारेमा आफ्नो नेपाल भ्रमणका क्रममा प्राप्त अनुभव सुनाउँदै दुई राष्ट्रबीचको चिरस्थायी मित्रतामा दिए।

कार्यक्रममा सिनेटमा विपक्षी दलका नेता, अन्य सिनेटरहरू, नेपालका लागि पाकिस्तानका राजदूत, पूर्वमन्त्रीहरू, पाकिस्तान सरकारका उच्चपदस्थ अधिकारी तथा सैन्य अधिकारीहरू, नेपालका लागि पाकिस्तानका पूर्वराजदूतलगायतको उपस्थिति रहेको थियो।

त्यसअघि इस्लामावादमा नेपाली समुदायको उपस्थितिमा राजदूत तापस अधिकारीले दूतावास प्रांगणमा नेपालको राष्ट्रिय झण्डा फहराएका थिए। सहभागीहरूले नेपालका लागि यो महत्त्वपूर्ण दिनका अवसरमा बधाई तथा शुभकामना दिएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर