इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रपतिसहित उच्च अधिकारी वसन्तपुरमा (तस्बिरहरू)

वसन्तपुर आज इन्द्रजात्रा हेर्ने दर्शकले भरिएको छ । यहाँ मानिसहरूको खचाखच उपस्थिति छ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजाआराधना गरी आज परम्परागत रूपमा इन्द्रजात्रा मनाइँदैछ ।

जात्रा हेर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गरिबी निवारण तथा सहकारीमन्त्री रञ्जिता श्रेष्ठ, पर्यटनमन्त्री सुदन किराती, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलगायत उच्च अधिकारी हनुमानढोका पुगिसकेका छन् ।

इन्द्रजात्रा अवलोकन गर्न विदेशी पर्यटकहरू पनि वसन्तपुर पुगेका छन् । केही बेरमा कुमारीको रथारोहण हुनेछ । हनुमानढोकास्थित गद्दी बैठकबाट राष्ट्रपति रामचन्द्र पौडेलले कुमारीलगायतको रथको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

सोही अवसरमा यहाँ हजारौं सर्वसाधारण पनि जात्रा अवलोकन गर्न पुगेका छन् । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा पनि मनाइँदै आएको छ । विशेषगरी वसन्तपुरमा देखाइने जात्रा विश्वभर चर्चित रहिआएको छ ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।

भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिंगोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिंगोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रूपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।

जात्राभर भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ । इन्द्रध्वजाको लिंगो ठड्याएको आठौं दिनपछि अर्थात् आश्विन कृष्ण चौथीका दिन ‘इन्द्रध्वज पातन’ गर्ने अर्थात् लडाउने चलन छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर