एकीकृत निजामती ऐन माग गर्दै स्थानीय तहका कर्मचारीले थाले आन्दोलन (तस्बिरहरू)

स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिको आह्वानमा स्थानीय तहका कर्मचारीले आजदेखि आन्दोलन थालेका छन्।

सोमबार काठमाडौंको माइतीघरमा निजामती विधेयकमा आफूहरूलाई उपेक्षा गरेको भन्दै उनीहरूले हातमा कालोपट्टी बाँधेर विरोध गरेका हुन्। आन्दोलनमा देशका विभिन्न पालिकाबाट कर्मचारी काठमाडौं भेला भएका छन्।

विरोध प्रदर्शनमा संघर्ष समितिका संयोजक दीपक गौतमले स्थानीय तह कर्मचारी ऐन विभिन्न अवस्थामा रहँदा समस्याबाट गुज्रिनु परेको भन्दै निजामती ऐनको सट्टा एकीकृत निजामती ऐन जारी गर्न सरकारलाई दबाबस्वरूप आन्दोलन थालेको बताए।

उनले भने, ‘स्थानीय तह कर्मचारी ऐन विभिन्न अवस्थामा रहँदा विभिन्न समस्याबाट गुज्रिरनुपरेको । वृत्ति विकास, सेवा सुविधाका बाटाहरू बन्द गर्ने र नकारात्मक असर परेकाले तत्काल हाम्रा मागहरूलाई सम्बोधन गरेर सरकारले संघीय निजामती ऐनको सट्टा एकीकृत निजामती ऐन जारी गरोस् भन्ने सरकारलाई दबाबस्वरूप आन्दोलन थालेका हौं।’

भोलि देशभरका स्थानीय तहमा कालोपट्टी बाँधेर बस्ने र ध्यानाकर्षणपत्र बुझाउने गौतमले जानकारी दिए।

उनीहरूले असोज १९ सम्म चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।

सबै तस्बिरहरू : नेपाल न्यूज बैंक।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर