उपप्रधानमन्त्री श्रेष्ठ र एमसीसीकी सीईओ अल्ब्राइटबीच भेटवार्ता

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अमेरिकी परियोजना एमसीसीकी सीईओ एलिस अलब्राइटबीच मंगलबार गृह मन्त्रालयमा भेटवार्ता भएको छ।

सीईओ अल्ब्राइट र उनको टोलीलाई मन्त्रालयमा स्वागत गर्दै उपप्रधानमन्त्री श्रेष्ठले पछिल्लो राजनीतिक परिवर्तनपछि नेपालको सरकार जनताको आर्थिक-सामाजिक विकासको ऐतिहासिक जिम्मेवारी पूरा गर्ने काममा केन्द्रित रहेको र एमसीसी जस्ता परियोजनाको सफल कार्यान्वयनले त्यसमा योगदान दिने विश्वास व्यक्त गरे।

साथै नेपालको संसदले नै एमसीसी परियोजना पारित गरेकाले यसको कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको श्रेष्ठले बताए। परियोजनाका लागि जग्गा अधिग्रहण गर्ने र समग्र सुरक्षाको प्रत्याभूति गराउने काममा गृह मन्त्रालय लागेको समेत उनले बताए।

सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले जग्गा अधिग्रहणमा सहजीकरण गरिरहेको र परियोजना सुरक्षाका लागि कुनै कमी नहुने विश्वास श्रेष्ठले दिलाए।

एमसीए नेपालसँग परियोजना प्रगतिको पछिल्लो अवस्थाबारे आफूले जानकारी लिएको समेत उपप्रधानमन्त्री श्रेष्ठले बताए।

त्यस क्रममा सिईओ अल्ब्राइटले पाँच वर्षमा एमसीसी परियोजना सक्नैपर्ने भएकाले यसको कार्यान्वयनमा नेपाल सरकार र सरोकारवाला सबै पक्ष प्रतिबद्ध भएर लागेकोमा खुसी व्यक्त गरिन्। एससीसी कार्यान्वयनको जिम्मेवारी एमसीए नेपालको रहेको र यो नेपाल सरकारअन्तर्गतको संरचना रहेको उनले बताइन्।

परियोजनाको समयभित्रै सफल कार्यान्वयनका लागि आफूहरू नेपाल सरकारका सरोकारवाला निकायहरूसँग निरन्तर समन्वयमा रहेको समेत अल्ब्राइटले बताइन्।

एमसीसी अमेरिकी वैदेशिक सहयोगको महत्त्वपूर्ण अंग भएको र यसको कार्यान्वयनले नेपाल-अमेरिका सम्बन्ध थप प्रगाढ हुने विश्वास सीईओ अल्ब्राइटले व्यक्त गरिन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर