चाडपर्वमा घर जाने आफ्ना कर्मचारीका लागि सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

सशस्त्र प्रहरी बल, नेपालले नेपालीहरुको महान चाडपर्व बडादशैं, तिहार र छठको अवसर पारेर बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारी र उनीहरुका परिवारजनलाई लक्षित गरी निःशुल्क रुपमा २ वटा बस सेवा संचालन गर्ने भएको छ ।

चाडपर्वको बेला घरविदा जाने सशस्त्र प्रहरी कर्मचारीहरुको आवतजावतमा यातायात सहजताको लागि गत बर्षदेखि संचालन भएको निःशुल्क बस सेवाले यस वर्ष पनि निरन्तरता पाउने भएको हाे ।

सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट छुट्ने एउटा बसले काठमाडौं, नारायणगढ, बुटवल, भालुवाङ हुँदै कञ्चनपुरको गड्डाचौकीसम्म सेवा प्रदान गर्ने छ भने अर्को बसले नारायणगढ, बर्दिबास, सप्तरी, पकली हुँदै झापाको काँकडभिट्टासम्म सेवा प्रदान गर्ने सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले बताए ।

बडादशैंको अवसरमा काँकडभिट्टाको लागि दिउँसो २ बजे र गड्डाचौकीको लागि विहान १० बजे मुख्यालयबाट छुट्ने दुई वटा बसले असोज २४ गतेदेखि कार्तिक १२ गतेसम्म सेवा प्रदान गर्नेछ । त्यस्तै तिहार र छठ पर्वको अवसरमा संचालन हुने बस समेत कार्तिक २४ गतेदेखि मंसिर ४ गतेसम्म सोही समयमा मुख्यालयबाट छुट्ने वरिष्ठ उपरीक्षक खड्काले जानकारी दिए ।

चाडपर्वको बेला सशस्त्र प्रहरी बल, नेपालका अन्य पायक पर्ने इकाइहरुमा समेत बस संचालनको लागि समन्वय अधिकृतको व्यवस्था गरेको छ ।

यसभन्दा पहिला सशस्त्र प्रहरी बल, नेपालले बडादशैंको अवसरमा सर्वसाधारण यात्रुहरुको सुविधालाई ध्यानमा राखी काठमाडौं उपत्यकाभित्र निःशुल्क बस सेवा मेत प्रदान गर्दै आएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *