विश्वभरका एनआरएनएलाई एकताबद्ध गर्ने एजेण्डासहित अध्यक्षमा उम्मेदवारी दिएको हुँ : शर्मा

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदका उम्मेदवार उम्मेदवार राजेन्द्रकुमार (आरके) शर्माले आफूसँग मध्यपूर्वसहित विश्वभरका एनआरएनएलाई एकताबद्ध बनाउने एजेण्डा रहेको बताएका छन् ।

कतिपयले क्षेत्रीय एजेण्डा बोकेर हिँडेको आरोप लगाएको प्रति संकेत गर्दै शर्माले आफूसँग विश्वभरकै एनआरएनएलाई एकताबद्ध बनाउने र संस्थालाई गति दिने एजेण्डा रहेको बताएका हुन् ।

शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा शर्माले आफ्नो बाचापत्रमा मध्यपूर्व, युरोप, अमेरिकालगायत संसारभर बस्ने एनआरएनएहरुलाई समेट्ने योजना समेटिएको बताए । उनले आफ्नो चुनावी बाचापत्रलाई निर्वाचित भएको खण्डमा इमानदार भएर पूरा गर्न लागिपर्ने पनि बताए ।

‘मेरो बाचापत्र हेर्नुभयो भने संसारभरका नेपालीलाई समेटेर जाने योजना समेटिएको छ । मध्यपूर्वले एनआरएनएको २० वर्षे अभियानमा हालसम्म नेतृत्व नपाएकाले हामीलाई सबै अभियन्ताहरूले साथ दिनुपर्छ भन्ने मात्रै हो,’ उनले भने, ‘सबै साथीहरू सकारात्मक पनि हुनुहुन्छ ।’

उनले आफूलाई अमेरिका, अष्ट्रेलिया, युरोपलगायतका देशबाट सकारात्मक प्रतिक्रियाहरू आइसकेको भन्दै पूरै टिमले नै चुनाव जित्ने विश्वास व्यक्त गरे ।

शर्माले एनआरएनएको पवित्र उद्देश्य पूरा गर्ने सवालमा आफूहरूलाई सबै राजनीतिक दलहरूको समर्थन प्राप्त भएको दाबी गर्दै एनआरएनएमा राजनीति हुन भने नहुनेप्रति सचेत रहेको बताए । राजनीतिक दलहरूसँग सहकार्य गरेर एनआरएनएले कार्य गर्दै आएको पनि सो क्रममा शर्माले बताए ।

२४ महिनामा २४ वटा काम गर्ने बाचासहित आफू चुनावी मैदानमा खडा भएको उल्लेख गर्दै शर्माले आफ्नो पहिलो प्राथमिकता एनआरएनएहरूबीचको एकता भएको पनि बताए । त्यसका लागि आफूले इमानदार पहल गरेर सबै अभियानबाट बाहिर रहेका एनआरएनएहरूलाई पनि एउटै मालामा उन्न पहल गर्ने उनको भनाइ थियो ।

‘केही समययता, गैरआवासीय नेपाली महासंघमा एकता छैन । त्यसले हाम्रो लक्षित उद्देश्य हासिल गर्नमा बाधा पुर्‍याएको छ,’ शर्माले भने, ‘यसलाई जसरी पनि एकजुट गराउनुपर्ने दायित्व हाम्रो काँधमा आएको छ । मैले निरन्तर रूपमा प्रयास गरिरहेको छु । एकजुट गराएरै छाड्ने प्रण पनि गरेको छु ।’

पत्रकार सम्मेलनमा शर्मालाई समर्थन गर्दै एनआरएनए निर्वाचनका पदाधिकारीहरूले आफ्नो धारणा सार्वजनिक गरेका थिए ।

कार्यसमितिका उपाध्यक्ष डीबी क्षेत्रीले सबैको अपनत्व गराउन श्रमिकको मुद्दालाई स्थापित गर्न र सबैको अपनत्वको बढाउन जरुरी रहेको बताए ।

शर्मालाई समर्थन गर्दै उपाध्यक्षका उम्मेदवार बनेका मलेसिया खगेन्द्र न्यौपानले शर्माले पेस गरेको २४ महिना २४ बाचा नै आफ्नो एजेण्डा रहेको र शर्मा सहित आफू उपाध्यक्षमा निर्वाचित भएमा त्यसलाई कार्यान्वयन गर्ने बताए ।

जापानका रोविन्द्रप्रसाद श्रेष्ठ (गोविन्द) ले काम गर्ने व्यक्ति र एजेण्डालाई स्थापित गराउनका लागि आरके शर्मालाई समर्थन गरेर उपाध्यक्षमा उम्मेदवारी दिएको बताए ।

नेदरल्याण्डका शशी पौडेलले एनआरएनए सबै विचारको संगम भएको भन्दै आरके शर्मा अध्यक्षमा निर्वाचित भएमा मात्र त्यो पूरा हुने हुँदा आफू उनलाई समर्थन गरेर उपाध्यक्षको उम्मेदवार भएको बताए ।

‘राजनीति गर्ने संस्थाहरू अरू पनि धेरै छन्, म आफू विचारले कांग्रेस निकट छु,’ पौडेलले भने, ‘शर्माले सारेको एजेण्डाले सबै पक्षलाई विचारलाई समेटेको छ ।’

अष्ट्रेलिया अभिमानसिंह बस्नेतले आफूले अष्ट्रेलियामा सामाजिक कामका योजना समुदायका काम गर्ने योजना अगाडि बढाएको त्यो एजेण्डा आरके शर्माले बोकेको हुँदा समर्थन गर्दै उपाध्यक्षको उम्मेदवार बनेको बताए । उनले १५ लाख डलरमा अष्ट्रेलियामा पशुपतिनाथ र बौद्धस्तुपा बनाउनका लागि अगाडि सारेको जानकारी दिए ।

उपाध्यक्षका अर्का उम्मेदवार राज रेग्मीले शर्माको उम्मेदवारीलाई समर्थन जनाएर शुभकामना दिएका थिए ।

कतारका अब्दुल बासिदले युवाको प्रतिनिधित्व बढाउने योजना आरके शर्माको रहेको हुँदा देशभित्र आफू शर्मालाई समर्थन गरेर युवा उपाध्यक्षको उम्मेदवार बनेको बताए ।

कतारका प्रविण गुरूङले एनआरएनएलाई समावेशी बनाउने समृद्ध बनाउने एजेण्डासहित आरके शर्मा आएको हुँदा उनलाई समर्थन गर्दै उपमहासचिवमा उम्मेदवारी दिन लागेको बताए ।

सचिवका उम्मेदवार बेल्जियमका लोक दाहालले एनआरएनए संस्थामा पारदर्शिता र दोस्रो पुस्तालाई अभियानमा अगाडि बढाउने योजना आरके शर्माले २४ महिना २४ बाचा सहित योजना अगाडि सारेको हुँदा आफूले शर्मालाई समर्थन गरेर उपाध्यक्षमा उम्मेदवारी दिएको बताए ।

सचिवका उम्मेदवार जापानका टंक गैरेले सानो लगानीमा नेपालमा सानो लगानीमा धेरै योजना बढाउने योजना आरके शर्माले ल्याएको हुँदा आफूले उनलाई समर्थन गरेर सचिवमा उम्मेदवारी दिएको बताए ।

सचिवका उम्मेदवार यूएईका मनोजकुमार श्रेष्ठ (गोर्खाली) ले गैरआवासीय अभियानमा एकताको एजेण्डा आरके शर्माले सारेको हुँदा उनलाई समर्थन गरेर सचिवको उम्मेदवार बनेको बताए ।

सचिवका उम्मेदवार अमेरिकाका आरसी पोखरेलले एनआरएनए सचिवालयको पुनरसंरचनालाई परिवर्तन गर्ने एजेण्डा आरके शर्माले ल्याएको हुँदा शर्मालाई समर्थन गरेर सचिवमा उम्मेदवार बनेको बताए ।

कोषाध्यक्षका उम्मेदवार ठाकुर ढुंगानाले एनआरएनएलाई पारदर्शिता र कोषको आकार बढाउने योजनाअन्तर्गत आरके शर्मालाई समर्थन गरेर उम्मेदवारी दिन लागेको बताए ।

महिला संयोजककी उम्मेदवार क्यानडाकी देविका केसीले लोकसंस्कृति अगाडि बढाउन आरके शर्मालाई समर्थन गरेर उम्मेदवार बनेको बताइन् ।

शर्माले पत्रकार सम्मेलनपछि शुक्रबार नै अध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन् । अध्यक्षमा शर्माको पहिलो उम्मेदवारी परेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर