लुम्बिनीमा ३० करोड लगानीमा बन्दै छ रसियन गुम्बा

बुद्धको जन्मस्थल लुम्बिनीमा ‘रूसी बौद्ध गुम्बा’ निर्माण गर्न थालिएको छ । एक सय आठ वर्ष पुरानो रसियाको सेन्ट पिटरबर्गस्थित रसियन गुम्बाको प्रारूपसहितको गुम्बा निर्माण थालिएको हो ।

नेपालस्थित रसियन दूतावास, रुस नेपाल मैत्री सङ्घ, रूसी बौद्ध मन्दिर निर्माण फाउन्डेसन र रुसका बौद्धमार्गीको संयुक्त पहलमा मन्दिर निर्माण गर्न थालिएको छ । उक्त गुम्बा ३० करोड रूपैयाँको लगानीमा निर्माण गरिने रूसी गुम्बा नेपालका संयोजक ई. प्रवीण गौचनले जानकारी दिए ।

लुम्बिनी क्षेत्र विकास कोषभित्र रहेको एक बिघा जमिनमा निर्माण थालिएको सो गुम्बा सन् २०२५ मा सम्पन्न गरिने लक्ष्य रहेको उनले बताए । रसियादेखि रसियन गुम्बाको एक टुक्रा ढुङ्गासहित आएका भिक्षुहरूबाट गरिएको बौद्ध पाठ परायणसहित रसियन राजदूत असेक्सेई नोभिकोभले गुम्बा शिलान्यास गरेका थिए । पाठ पारायण गर्ने भिक्षुहरूमा बुदा बदमाएफ, जम्बालभ छिरिगंछाप, नान्जतोफ रिचेलाभ, चिल्गासेफ रमन थिए ।

रूसी दूतावासमार्फत लुम्बिनी विकास कोषसँग सन् २०१९ मा सम्झौता सम्पन्न भई हाल निर्माण सुरू गरिएको साढे दुईतले उक्त गुम्बा रूसको सबैभन्दा पुरानो गुम्बाको प्रारूप झल्किने संरचनाअनुरूपको हुनेछ ।

शिलान्यास कार्यक्रममा रसियन राजदूत नोभिकोभले नेपाल र रसियाबीच मैत्री सम्बन्ध एवं संस्कृति आदानप्रदान गर्ने उद्देश्यले बुद्धको जन्मभूमिमा रसियन गुम्बाको निर्माण सुरू गरिएको बताए ।

उनले शान्तिको सन्देश दिने बुद्धभूमि लुम्बिनीले नेपाल र रसियाबीचको सम्बन्ध थप प्रगाढ बनाउने पनि जानकारी गराए ।

रूस नेपाल मैत्री समाजका उपाध्यक्ष दीनानाथ राजभण्डारीले दुई देशबीच द्विपक्षीय सम्बन्ध थप सुदृढ गराउने यो प्रयासले संस्कृति संरक्षणका साथै बुद्धभूमि नेपालको पहिचान थप उजागर गर्ने उल्लेख गरे ।

रूसी बौद्व समाजका अध्यक्ष अलेक भयासिलोले मन्दिर निर्माणले नेपाल संसारभर शान्तिको स्रोत राष्ट्र बन्नसक्ने बताए । लुम्बिनी विश्व विद्यालयका उपकुलपति डा सुवर्णलाल ब्रजाचार्यले लुम्बिनीबाट प्रवाह हुने शान्तिको सन्देशलाई संसारभरका मानव जातिले महत्त्वका साथ हेर्ने बताए ।

नेपालका तर्फबाट रुसका लागि पूर्वराजदूत ऋषिराम घिमिरेले नेपाल र रसियाबीचको सम्बन्ध, आपसी सहयोग, सद्भाव र मैत्रीको प्रतीकका रुपमा रहेको बुद्ध भूमिको महत्व बढाउन यस कार्यले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे ।

लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले यस कार्यमा प्रवासी नेपालीहरूले समेत सहजीकरण गरेको जानकारी गराए । बुद्धको जन्मस्थान लुम्बिनीमा २७ देशहरूले आफ्नो देशको प्रतिनिधित्व हुने गरी मन्दिर तथा गुम्बाहरू निर्माण गरिसकेका उनको भनाइ थियो । लुम्बिनी विकास कोषका अनुसार ४० देश तथा सङ्घसंस्थाले यहाँ संरचना निमार्णका लागि सम्झौता गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर