माइतीघर मण्डलामा प्रदर्शन निषेध, दुर्गा प्रसाईंको प्रदर्शनस्थल अनिश्चित

मंसिर ७ गते शक्ति प्रदर्शन गर्ने तयारी गरिरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले त्यस दिन माइतीघर मण्डलामा कुनै कार्यक्रम नगर्ने भएका छन्।

प्रसाईंको निजी सचिवालयका सदस्य विनोद बजगाईंले माइतीघर मण्डलामा मंसिर ७ मा कुनै कार्यक्रम नरहेको र अरू कुन स्थानमा कार्यक्रम गर्ने भन्नेबारेमा परामर्श भइरहेकाले मंगलबार त्यसबारेमा जानकारी सार्वजनिक गर्ने बताए।

नेकपा (एमाले) को भ्रातृ संगठन युवा संघ र अस्पताल व्यवसायी दुर्गा प्रसाईंले मंसिर ७ का दिन माइतीघर मण्डलामा शक्ति प्रदर्शन गर्ने भनेर प्रचारप्रसार गर्दै आएका थिए। युवा संघले यसबारेमा अहिलेसम्म कुनै जानकारी दिएको छैन।

दुवै पक्षले त्यस दिन बिहान ११ बजे माइतीघर मण्डलामा शक्ति प्रदर्शन गर्ने निर्णय गरेपछि गृह प्रशासन यसको व्यवस्थापन कसरी गर्ने भनेर परामर्शमा छ। शान्तिसुरक्षाको व्यवस्थापनलाई ध्यानमा राखेर दुवै पक्षलाई एकै ठाउँमा कार्यक्रम आयोजना गर्न दिन नहुने भन्नेमा गृह प्रशासन निर्णयमा पुगिसकेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले गृहसचिव, उपत्यकाका अरू दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरूसँगको परामर्शपछि माइतीघर मण्डलामा कुनै पनि प्रदर्शनलगायतका कार्यक्रम आयोजना गर्न रोक लगाइने बताए।

प्रधानमन्त्री पुष्पकमल दाहालले सुरक्षा निकायका प्रमुखहरूसँग देशको समग्र शान्तिसुरक्षाको अवस्था र मंसिर ७ मा गरिने भनिएको प्रदर्शनको व्यवस्थापन बारेमा परामर्श गरिसकेका छन्।

माइतीघर मण्डला मात्र नभई काठमाडौंका एकै स्थानमा एकै मिति र समयमा दुई पक्षको कार्यक्रम आयोजना गर्न दिन नहुने निष्कर्षमा पुगेका सुरक्षा अधिकारीहरूले वैकल्पिक स्थानमा कार्यक्रम गर्न सल्लाह दिनुुपर्ने सहमति गरेका छन्।

गृह प्रशासनले काठमाडौंका तीनकुने, खुलामञ्च, नारायणचौर, बालाजुको माछापोखरी, कीर्तिपुर र अरू पनि सम्भावित स्थान खोजेर त्यता कार्यक्रमहरू गर्न आयोजकलाई सल्लाह दिनुपर्ने बारेमा छलफल गरेको छ।

दुर्गा प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ अभियानको नाममा प्रदर्शन गर्न लागेको बताउँदै आएका छन्।

युवा संघले मूल्यवृद्धि, भ्रष्टाचार, जातीय सद्भाव र अराजकताविरूद्ध प्रदर्शन लागेको बताएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले माइतीघर मण्डलामा प्रदर्शन गर्न नपाउने गरी निषेधित क्षेत्र घोषणा गरेको थियो। पछि त्यसविरूद्ध परेको रिटमा आदेश गर्दै सर्वोच्च अदालतले त्यो निर्णय कार्यान्वयन नगर्न भनेको थियो।

अहिले शान्तिसुरक्षाको अवस्था चुनौतीपूर्ण रहेको कारण खुलाएर स्थानीय प्रशासन ऐन, २०२८ अनुसार निश्चित समयका लागि माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गर्न सकिने सरकारी अधिकारीहरूको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर