दुर्गा प्रसाईंलाई कालोमोसो दल्ने युवा संघका नेताले नै मध्यराति लखेटेका थिए महिलालाई

महेश बस्नेत भन्छन्- युवा संघले त बासको व्यवस्था गरिदिएको हो

व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा बिहीबार काठमाडौंको बल्खुमा हुन लागेको प्रदर्शनमा साथ दिन काठमाडौंबाहिरबाट आएका महिलाहरूलाई नेकपा (एमाले) निकट युवा संघका नेताले मध्यराति लखेटेका छन्।

सामाजिक सञ्जालमा भाइरल बनिरहेको भिडियो फुटेजमा देखिएका एक व्यक्ति युवा संघका सचिवालय सदस्य विनोद राई भएको पुष्टि भएको हो। यसअघि दुर्गा प्रसाईंलाई कालोमोसो दल्ने काम पनि उनकै नेतृत्वमा भएको बुझिएको छ।

राईको नेतृत्वमा गएको समूहले नै भक्तपुरको लोकन्थलीस्थित इन्द्रसार पार्टी प्यालेसमा सुतिरहेका महिलाहरूमाथि दुर्व्यवहार गरेको पुष्टि भएको हो। महिलाहरूलाई सुतिरहेको स्थानबाट उठाएर लखेटिएको भिडियो सार्वजनिक भएसँगै युवा संघको चौतर्फी आलोचना भइरहेको छ।

महिलाहरूलाई उठाउने पुरूषले दुर्गा प्रसाईंको नाम लिएर तपाईंहरू ७ गतेको आन्दोलनमा आउनुभएको होइन भन्दै प्रश्न गरेका छन्।

उनले महिलाहरूलाई बस चढाएर इटहरी नै फर्काइदिने भनेका छन् भने हतारहतार लखेटेका छन्। महिलाहरूले हामी जान्छौं, लुगा लगाउन त दिनुस् भनेको सुनिन्छ।

महिलाहरूमाथि दुर्व्यवहार भएको विषयमा भक्तपुर प्रहरीले राति १० बजेतिर जानकारी पाएपछि प्रहरी घटनास्थल पुगेको थियो। प्रहरी पुग्दा दुर्व्यवहार गर्नेहरू भने भागिसकेका थिए।

विनोद राई नेकपा (माओवादी केन्द्र) बाट विप्लव हुँदै एमालेमा आएका हुन्। उनको घर खोटाङको दिप्रु चुइचुम्मा गाउँपालिका रहेको बुझिएको छ।

यता, नेकपा (एमाले) का पोलिटब्यूरो सदस्यसमेत रहेका युवा संघका पूर्वअध्यक्ष महेश बस्नेतले भने त्यो हर्कत युवा संघका कार्यकर्ताले नगरेको बरू ती महिलाहरूलाई युवा संघले नै बासको व्यवस्था गरेको दाबी गरेका छन्।

‘दुर्गा प्रसाईंजस्ता आपराधिक व्यक्तिले सर्वसाधारण र महिलाहरूलाई कुनै दल र व्यक्तिविरूद्ध परिचालन गरी अमर्यादित ढंगले उचालेर काठमाडाैंमा खुल्ला दिसा-पिसाब गराउने जस्ता हर्कत गराउँदा स्थानीयले त्यस्तो नगर्न र आफ्नो क्षेत्रमा नबस्न गरिएको आग्रहलाई अन्यथा प्रचार गर्नु बेठीक छ,’ बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘याद होस् ती व्यक्तिहरूलाई प्रहरीको समन्वयमा युवा संघका साथीहरूले नै बास बस्ने व्यवस्था गरेका हुन्।’

भोलि मंसिर ७ गते मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समूहले काठमाडौंको बल्खुमा प्रदर्शन गर्दै छ भने बस्नेतकै नेतृत्वमा युवा संघसहित एमालेका भातृ संगठनले तीनकुनेमा प्रदर्शन गर्दै छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर