चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा होटल बनाउन दिएको आरोपमा १२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

चितवन राष्ट्रिय निकुञ्जको कोर एरिया (निकुञ्जको चार किल्लाभित्र) होटल निर्माण गर्न अनुमति दिएको आरोपमा निकुञ्जका पदाधिकारीसहित १२ जनाविरूद्ध भ्रष्टाचार मुुद्दा दर्ता भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चितवन राष्ट्रिय निकुञ्ज, खैरहनी नगरपालिका र विभिन्न सामुदायिक वन समूहका पदाधिकारीविरूद्ध बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत, चितवनको खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र इञ्जिनियर तथा विभिन्न सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको हो।

उनीहरूमाथि बजेटको दुरूपयोग गरी निकुञ्जभित्रको वन क्षेत्रमा कंक्रिट मचान निर्माण गरेको, पक्की होटल र भवन निर्माण गरेको काठ काटेको लगायत आरोप छ।

अख्तियारले चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, सौराहाका तत्कालीन सहायक संरक्षण अधिकृत अभिनय पाठक, खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरूषोत्तम शर्मा, इञ्जिनियर राजेश कोइराला र सब–इञ्जिनियर सुमन श्रेष्ठविरूद्ध ३१ लाख ५९ हजार बिगो मागदाबी गर्दै भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।

कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हिराबहादुर गुरूङविरूद्ध एक करोड १९ लाख रूपैयाँ बिगो मागदाबी गरिएको छ। कुमरोम सामुदायिक वन उपभोक्ता समूहका कोषाध्यक्ष शम्भु जीसीसँग ८९ लाख रूपैयाँ बिगो मागिएको छ। त्यही समूहका अर्को कालका अध्यक्ष गणेशकुमार श्रेष्ठ र कोषाध्यक्ष उज्जल बर्तौलामाथि १३ लाख ३१ हजार रूपैयाँ बिगो मागदाबी गरेको छ।

त्यस्तै बूढीराप्ती उपभोक्ता समितिका अध्यक्ष नारायणदत्त तिमिल्सिना र कोषाध्यक्ष सोमराज कडरियाविरूद्ध ७८ हजार रूपैयाँ बिगो मागदाबी गरिएको छ।

कंक्रिट मचान निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष सीता दाहाल र सचिव कल्याण लटौलाविरूद्ध ३५ लाख ५० हजार रूपैयाँ बिगो मागदाबीसहित मुद्दा दर्ता भएको छ।

अख्तियारका अनुसार निकुञ्ज क्षेत्रमा निर्मित भवन अहिले प्रयोगविहीन छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर