दुई पटक विश्वकप जितेका वेस्ट इन्डिजका खेलाडीलाई ६ वर्ष प्रतिबन्ध

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले वेस्ट इन्डिजका पूर्वब्याट्सम्यान मार्लोन स्यामुएल्सलाई ६ वर्षको प्रतिबन्ध लगाएको छ ।

भ्रष्टाचारविरोधी संहिता उल्लंघन गरेको भन्दै स्यामुएल्समाथि प्रतिबन्ध लगाइएको हो । आईसीसीले आफ्नो आधिकारिक वेबसाइटमार्फत यो जानकारी दिएको हो । मार्लोनमाथिको प्रतिबन्ध नोभेम्बर ११ देखि नै सुरू भएको र उनले ६ वर्षको अवधिमा कुनै पनि क्रिकेट खेल्न नपाउने आईसीसीले जनाएको छ ।

मार्लोन स्यामुएल्सलाई एमिरेट्स क्रिकेट बोर्डको भ्रष्टाचारविरोधी संहितासँग सम्बन्धित नियम उल्लंघन गरेको आरोपमा दोषी ठहर गरिएको छ । आईसीसीको एचआर एण्ड इन्टिग्रिटी युनिटका प्रमुख एलेक्स मार्सनले स्यामुएल्समाथि प्रतिबन्धको घोषणा गरेका हुन् ।

स्यामुएल्सले झण्डै दुई दशकदेखि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए । आरोपअनुसार स्यामुएल्सले २०१९ मा अबुधाबी टी-१० लिगमा भ्रष्टाचारसम्बन्धी नियम तोडेका थिए । यसैलाई ध्यानमा राख्दै आईसीसीले उनीमाथि चारवटा धारा लगाएर कारबाही गरेको हो ।

स्यामुएल्स भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएको यो पहिलो पटक भने होइन । यसअघि पनि सन् २००८ मा पनि उनीमाथि पैसा लिएको आरोप लागेको थियो । त्यसबेला पनि दोषी ठहर भई उनले दुई वर्षको प्रतिबन्ध भोगेका थिए ।

यसबाहेक सन् २०१५ मा उनको बलिङ एक्सनका कारण एक वर्षको प्रतिबन्ध लागेको थियो । यस पटक स्यामुएल्सलाई इमिरेट्स क्रिकेट बोर्डको भ्रष्टाचारविरोधी संहिताको धारा २.४.२, २.४.३, २.४.६ र २.४.७ उल्लंघन गरेको आरोपमा दोषी ठहर गरिएको छ । दोषी ठहरिएपछि स्यामुएल्सका तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया भने आएको छैन ।

मार्लोन स्यामुएल्स वेस्ट इन्डिजले २०१२ र २०१६ को टी-२० विश्वकप जित्दा टोलीमा थिए । यी दुवै फाइनलमा वेस्ट इन्डिजका लागि उनले सर्वाधिक रन पनि बनाएका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *