प्रधानमन्त्रीले भने- प्रधानमन्त्री कुलपति हुने व्यवस्था अव्यावहारिक छ, विकल्प खोजौं

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उच्चशिक्षालाई दलगत राजनीतिको प्रत्यक्ष क्रीडास्थल हुन नदिन प्रधानमन्त्री सबै विश्वविद्यालयहरूको पदेन कुलपति हुने व्यवस्था अव्यावहारिक भएको र त्यसको विकल्प खोज्नुपर्ने बताएका छन् ।

काभ्रेको धुलिखेलमा आयोजित ‘उच्चशिक्षाका मापदण्डहरूमा एकरूपता र अन्तर्राष्ट्रियकरण’ बारे उपकुलपतिहरूको सम्मेलनमा दाहालले नेपालको उच्चशिक्षा वास्तवमै चुनौतीपूर्ण संघारमा उभिएको स्वीकार गरे ।

नेपालका विश्वविद्यालयमा गुणस्तरीय प्राविधिक एवं व्यावसायिक उच्चशिक्षा प्रदान गर्न आवश्यक भौतिक एवं डिजिटल पूर्वाधार, दक्ष जनशक्ति र शिक्षापछिको रोजगारीका अवसर सिर्जनाका लागि ठूलो लगानी आवश्यक भएको उनले बताए । त्यसका लागि राज्यले गर्ने लागनी पर्याप्त नभएको उनले स्वीकार गरे ।

विश्वविद्यालय शिक्षामा प्रवेश गर्न तयार जेहेन्दार युवाहरू नै मुलुक छोडेर बाहिरिरहेको अवस्थामा अहिलेको शैक्षिक चुनौतीलाई विश्वविद्यालयहरूले पनि सुधारको अवसरका रूपमा लिनुपर्नेमा जोड दिएका उनले राजनीतिमुक्त विश्वविद्यालय बनाउनमा सबैको साथ आवश्यक भएको बताए ।

काठमाडौं विश्वविद्यालयले आगामी महिना आयोजना गर्न लागेको एसोसिएसन अफ इण्डियन युनिभर्सिटिजको उत्तरपूर्वीय क्षेत्रका २ सय ५० भन्दा बढी विश्वविद्यालयका उपकुलपतिहरूको सम्मेलनको तयारी र त्यसमा प्रस्तुत गर्ने नेपालको राष्ट्रिय धारणा बनाउन आजको उपकुलपतिहरूको सम्मेलनले सहयोग पुग्ने दाहालले धारणा राखे ।

चुनौतीपूर्ण सँघारमा उभिएको नेपालको उच्चशिक्षालाई सुधारेर नेपालमा सम्भव हुने योग विज्ञान, प्राकृतिक चिकित्सा, हिमालय क्षेत्रको पर्यावरण र जलवायु परिवर्तनको अध्ययन, बौद्ध शिक्षा, पूर्वीय वास्तुकला र दर्शन आदि विषयलाई उच्चशिक्षामा समावेश गर्नुपर्ने दाहालको भनाइ छ ।

देशको उच्चशिक्षामा एकरूपता कायम गर्न राष्ट्रिय योग्यता प्रारूप ‘नेसनल क्वालिफिकेसन फ्रेमवर्क’ को विश्वविद्यालय अनुदान आयोगले तयारी गररहेको जानकारी उनले दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर