युवा संघ एमालेको काइँलो छोरो मात्र हो, सिंगाे एमाले उत्रियो भने के हुन्छ ? : ओली

'राजतन्त्र फर्काउँछौं भन्नु चेतनाहीनता'

(नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीले चेतनाहीनहरूले मात्रै राजसंस्था फर्काउने सपना देख्ने टिप्पणी गरेका छन् । राजसंस्थालाई ‘प्रेत’ भनेर व्यंग्य गरेका उनले एउटा व्यक्तिमा सार्वभौमसत्ता हुनुपर्छ भन्नु मूर्खता भएको बताए ।

एमाले पार्टी कार्यालयमा शुक्रबार आयोजित युवा संघको केन्द्रीय कमिटी बैठकमा उनले राजसंस्थालाई व्यंग्य गर्दै ‘पछाडि नलीखुट्टाको हड्डी फुटेर केही व्यक्ति राजतन्त्र फर्काउँछु भनेर हिँडिरहेको’ बताए ।

‘केही तत्त्वहरू हेर्दाहेर्दा वाक्कदिक्क भएर जनताले पाल्न नसकिने रहेछ यो, काम लाग्ने चिजै होइन रहेछ भनेर १५ वर्षअघि नै फ्याँकिसकेको राजतन्त्र फर्काउन भनेर हिँडिरहेका छन् मरेको प्रेतका पछाडि,’ उनले भने, ‘नलीखुट्टाको हड्डी फुटेर राजतन्त्र फर्काउँछु भनेर केही लाग्या छन् ।’

राजधानीको तीनकुनेमा बिहीबार युवा संघले शक्ति प्रदर्शन गरेको थियो ।

‘हिजोको आन्दोलनमा युवा संघले आफ्नो शक्ति थोरै मात्रामा देखाएको’ भन्दै अध्यक्ष ओलीले सिंगै युवा संघ उत्रियो भने के हुन्छ ? भन्दै चेतावनी दिए ।

उनले भने, ‘युवा संघ नेकपा (एमाले) को काइँलो छोरो मात्र हो । एमाले परिवार सिंगै उत्रियो भने ? अरू धेरै शक्ति हामीसँग बाँकी छ । युवा संघले अलिकति देखाएको छ । सिंगै युवा संघ उत्रियो भने के हुन्छ ?
अध्यक्ष ओलीले नागरिक सर्वोच्चता स्वीकार नगरी व्यक्तिमा सार्वभौमसत्ता हुनुपर्छ भन्नु मूर्खता भएको तर्क गरे ।

‘नागरिक सर्वोच्चता स्वीकार नगर्ने, एउटा व्यक्तिमा सार्वभौमसत्ता हुनुपर्छ भन्ने त्यो चेतना हो होइन, मुर्खता हो,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *