के प्रधानमन्त्री ‘क्याबिनेट’ फेरबदल गर्दैछन् ?

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभागीय मन्त्रीहरूको कार्यसम्पादन समीक्षा गर्ने तयारी गरेका छन् । सरकार गठन भएको एक वर्ष पूरा हुनै लाग्दा उनले यसको तयारी गरेका हुन् ।

यसले प्रधानमन्त्री दाहालले आफू नेतृत्वको मन्त्रिपरिषदमा सदस्यहरू फेरबदल गर्न लागेका हुन् कि भन्ने संकेत दिएको छ । उनी केही मन्त्रीहरूको कार्यसम्पादनबाट सन्तुष्ट नरहेको उनले प्रतीकात्मक रूपमा दिएका सार्वजनिक अभिव्यक्तिले पनि पुष्टि गरसकेको हुनाले मन्त्रिपरिषद फेरबदल हुन सक्ने आशंकालाई थप बल पुर्‍याएको छ ।

यसअघि साउन २६ गते प्रधानमन्त्री प्रचण्डले ‘कार्यसम्पादन नियमावली-२०६४’ मा टेकेर विभागीय मन्त्रीका बीचमा वार्षिक कार्यसम्पादन सम्झौता गरेका थिए । सम्झौताअनुसार काम नगर्ने मन्त्रीहरूलाई कारबाही गर्ने चेतावनीसमेत उनले दिएका थिए ।

विभागीय मन्त्रीसँग छुट्टाछुट्टै सम्झौता गरेको पनि चार महिना पूरा भइसकेको छ । जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप-२८ मा भाग लिएर फर्किएपछि मन्त्रीहरूको कार्यसम्पादन मूल्यांकन हुने प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

कार्यसम्पादन सम्झौता, २०८०/८१ को नीति, कार्यक्रम, बजेट, प्रधानमन्त्रीले संघीय संसदमा गरेको सम्बोधन, सरकारका सचिवलाई दिएको निर्देशन, सरकारको एकीकृत कार्ययोजना आदि सूचकलाई आधार बनाइएको थियो । सम्झौतापत्रमा सम्पादन गर्नुपर्ने प्रमुख कार्य समावेश गरी छुट्टाछुट्टै बनाइएको थियो ।

सम्झौतामा कार्यक्रम र क्रियाकलापको सूची तथा सो जिम्मेवारी पूरा गर्नुपर्ने समयसीमा उल्लेख गरिएको थियो । सम्झौतामा प्रत्येक मन्त्रालयले गरेको कामको अलग-अलग कार्यसूची तयार पारिएको थियो । जसमा नतिजा सूचक, भार, इकाइ, अघिल्लो आर्थिक वर्षको समग्रस्थिति र चालु आर्थिक वर्षको लक्ष्य निर्धारण गरिएको थियो ।

सम्झौतामा कार्यसम्पादनको प्रगति मासिक रूपमा प्रधानमन्त्री कार्यालयमा अनलाइन प्रणालीबाट पठाउनुपर्ने, त्यसलाई मासिक तथा वार्षिक प्रतिवेदन र मूल्यांकनको आधार बनाउने उल्लेख भएको प्रधानमन्त्री कार्यालयका सचिव डा. गणेश पाण्डेयले जानकारी दिए ।

जसअनुसार मन्त्रीहरूको प्रगति रिपोर्ट अनलाइनमार्फत आउने क्रम जारी रहेको छ । पाण्डेयका अनुसार रिपोर्टिङको काम सकिएको छ । आइतबारसम्म कार्यसम्पादन रिपोर्ट तयार हुनेछ ।

सम्झौता अवधिभरमा मन्त्रीको पद रिक्त भएमा सो पदको कार्यभार सम्हाल्ने वा नयाँ नियुक्त हुने मन्त्रीले बाँकी काम गर्नुपर्ने सम्झौतापत्रमा उल्लेख छ ।

गत वर्ष पुस १० गते प्रधानमन्त्री नियुक्त भएको प्रचण्डको एक वर्षे कार्यकाल आगामी पुस ११ गते पूरा हुँदैछ । सरकार गठन भएको एक वर्ष पूरा हुनै लाग्दा मन्त्रिपरिषद पुनर्गठनले चर्चा पाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर