‘टिकटक’ माथि किन लगाउनु पर्‍याे प्रतिबन्ध ? यस्तो छ प्रधानमन्त्रीको जवाफ

चिनियाँ सामाजिक सञ्जाल टिकटक प्रतिबन्धविरूद्ध सर्वोच्चको कारण देखाऊ आदेशमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लिखित जवाफ पेस गरेका छन् ।

प्रधानमन्त्री दाहालले टिकटकले विकृतिहरू सिर्जना गरेकाले यसमा प्रतिबन्ध लगाउनु परेको जवाफ दिएका छन् । यसको प्रयोगलाई तत्काल नरोके निकट भविष्यमा सामाजिक रूपमा भयावह स्थिति आउन सक्ने हुँदा तत्कालीन र दूरगामी दुवै असरलाई विश्लेषण गरी यस्तो निर्णय गरिएको उनको जवाफ छ ।

उनले टिकटकबाट नेपाली समाजमा सामाजिक रोग र महामारी फैलिएको दाबी गरेका छन् ।

टिकटक प्रतिबन्धविरूद्ध सर्वोच्च अदालतमा दर्ता भएका १६ वटा रिट निवेदनहरूको एकमुष्ट जवाफ लेख्दै प्रधानमन्त्री दाहालले टिकटकका कारण नेपाली समाजमा प्रविधिगत प्रदूषण (डिजिटल पोलुसन) बढ्दै गएको र त्यो नियन्त्रण गर्न आवश्यक रहेको बताएका छन् ।

प्रधानमन्त्री दाहालले भनेका छन्, ‘टिकटकको सकारात्मकका साथै नकारात्मक प्रयोग पनि भइरहेको देखिएकाले यो सामाजिक रोग तथा महामारीका रूपमा फैलिँदै गई प्रविधिगत प्रदूषण बढ्दै गएको हुँदा यसका समग्र नकारात्मक पक्षबाट समाज तथा समग्र राष्ट्रलाई नै सुरक्षित गरी बहुसंख्यक नागरिकको हित संरक्षण गर्ने अभिप्रायले यसको प्रयोगमा रोक लगाउने गरी निर्णय भएको हो ।’

टिकटकबाट नेपाली समाजमा सद्भाव बिथोलेको, घृणा फैलाएको, सामाजिक सहिष्णुतामा आँच आउने अभिव्यक्तिहरू आएको, अश्लील सामग्री शेयर गरेर फैलाउने क्रम बढेको प्रधानमन्त्रीको दाबी छ । उनले व्यक्तिगत मानमर्दन गर्ने, बदलाको भावनाबाट प्रेरित भएर आवेशपूर्ण अभिव्यक्तिहरू पोष्ट गर्ने लगायत विकृति बढेकाले प्रतिबन्ध लगाउनु परेको दाबी गरेका छन् ।

प्रधानमन्त्री दाहालले समाजमा शान्ति, सुरक्षा, अमनचयन कायम गर्दै गतिशील समाज बनाउनु सरकार, न्यायपालिकालगायत सबै निकायको कर्तव्य हुने भन्दै रिट निवेदन खारेज गरिदिन आग्रह गरेका छन् ।

टिकटकको बढ्दो प्रयोगका कारण सामाजिक आचरणरू स्खलित हुँदै गइरहेको भन्दै प्रधानमन्त्रीले टिकटकको प्रयोगबाट बालबालिकाको शारीरिक, मानसिक र अरू समग्र पक्षको विकासमा नकारात्मक असर परेको दाबी गरेका छन् ।

टिकटक प्रतिबन्धका कारण संविधानप्रदत्त नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको हक कुण्ठित भएको भन्ने दावीमा सत्यता नभएको भन्दै लिखित जवाफमा साम्प्रदायिक सद्भाव खलल, गालीबेइज्जती, सार्वजनिक शिष्टाचार र नैतिकता प्रतिकूलको काममा प्रतिबन्ध लगाउन बाधा नहुने भन्दै यसबारे नजिर समेत रहेको जिकिर उनले गरेका छन् ।

उनले लिखित जवाफमा टिकटकबाट नेपाली समाजमा सामाजिक सद्भाव बिथोल्नुका साथै नागरिकको गोपनीयता सम्बन्धी विवरण र राष्ट्रिय सुरक्षाको चुनौती पनि बढेको दाबी गरेका छन् । लिखित जवाफमा उनले भनेका छन्, ‘राष्ट्रिय सुरक्षा, व्यक्तिगत गोपनीयता, सांस्कृतिक विचलन, प्रयोगको कुलत, मिथ्या सूचना, डाटा चुहावट र साइबर सुरक्षाजस्ता कारणले टिकटकको प्रयोगमा प्रतिबन्ध लगाउन आवश्यक परेको हो ।’

गत २७ कात्तिक मा मन्त्रिपरिषदको बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो । निर्णयबारे जानकारी गराउँदै सरकारी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सम्बन्ध, पारिवारिक सम्बन्धलगायतमा समस्या भएको भन्दै टिकटकमा प्रतिबन्ध लगाइएको बताएकी थिइन् ।

तिहार बिदापछि अदालत खुलेलगत्तै टिकटक प्रतिबन्धसँग सम्बन्धित १६ वटा रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएका हुन् । न्यायाधीश विनोद शर्माको इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे पनि मुद्दालाई प्राथमिकता दिई १५ मंसिरभित्र लिखित जवाफ पेस गर्न सरकारलाई आदेश दिएको थियो ।

यो विवादमाथि आगामी मंगलबार (१९ मंसिर) देखि सर्वोच्च अदालतमा नियमित सुनुवाइ हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर