दुई महिनाअघि खोलिएको कम्पनीले किन्यो एनसेल, एउटै समूह हाबी

दुई महिनाअघि बेलायतमा स्थापना गरिएको एक कम्पनीले दूरसञ्चार सेवा प्रदायक एनसेलको ८० प्रतिशत स्वामित्व खरिद गरेको छ। नेपाली मूलका सिङ्गापुरका नागरिक सतीशलाल आचार्य निर्देशक रहेको स्पेक्ट्रलाइट युके लिमिटेडले यसअघि कम्पनीमा रहेको आजियटाको उक्त स्वामित्व खरिद गरेको हो।

बेलायतको लन्डनस्थित वन फ्लिट प्लेसमा दर्ता ठेगाना रहेको उक्त कम्पनीको एनसेलमा प्रवेशसँगै स्वामित्व खरिदबिक्रीको नयाँ चरण सुरु भएको छ। गत असोज ९ गते सो कम्पनी दर्ता भएको देखिन्छ ।

एनसेलमा रहेको आफ्नो ८० प्रतिशत स्वामित्व स्पेक्ट्रलाइटलाई बिक्री गरेको आजियटाले पनि पुष्टि गरेको छ। शुक्रबार विज्ञप्ति जारी गर्दै आजियटाले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्रीसम्बन्धी सम्झौता पूरा भएको र एनसेलबाट पूर्ण रूपमा अलग भएको उल्लेख गरेको छ। नेपालको विद्यमान व्यावसायिक वातावरण र कर प्रणालीलाई कारण देखाउँदै आजियटाले बाहिरिएको उल्लेख गरेको छ।

एनसेलको स्वामित्व बिक्रीमा स्वच्छ रूपमा बाहिरिएको जनाए पनि आजियटाले खरिदबिक्रीको वास्तविक मूल्य भने सार्वजनिक गरेको छैन। नेपालमा लगानीको वातावरण नभएको दोष लगाएको आजियटाले सन् २०२९ पछि दूरसञ्चार अनुमतिपत्रको नवीकरण समाप्तिसँगै उत्पन्न हुने चुनौती पनि सँगै उल्लेख  गरेको छ। आजियटाको नेपालबाट बाहिरिन उसले देखाएको कारणलाई यी दुई परस्पर विपरीत कुराले भने पुष्टि गर्दैन ।

आजियटाले विज्ञप्तिमा एनसेलले आफ्नो सुरुवातदेखि नेपालको आर्थिक सामाजिक विकासका लागि महत्वपूर्ण योगदान गरेको पनि उल्लेख गरेको छ ।

सुरुवातदेखि दुई खर्ब ८३ अर्ब रुपियाँ करका रूपमा बुझाएको आजियटाले जनाएको छ । स्पेक्ट्रलाइटसँगको खरिद सम्झौतापछि जिम्मेबारपूर्वक नेपालबाट बाहिरिन सकेको पनि विज्ञप्तिमा उल्लेख छ ।

२०७२ पुसमा टेलियासोनेराबाट स्वामित्व खरिद गर्दा एक अर्ब तीन करोड अमेरिकी डलर (करिब एक खर्ब ४० अर्ब रुपियाँ) तिरेको आजियटाले अहिले सोही स्वामित्व भने पाँच करोड अमेरिकी डलर (करिब छ अर्ब रुपियाँ) मा बिक्री गरेको छ ।

एनसेलबाट आफ्नो स्वामित्व बिक्री गरेर आजियटा बाहिरिएसँगै एनसेलमा एउटै समूह हाबी हुने भएको छ। हाल एनसेलमा स्वदेशी लगानीकर्ताका रूपमा रहकी भावनासिंह श्रेष्ठको सुनिभेरा भेन्चर्सको २० प्रतिशत स्वामित्व रहेको छ। नेपालको विद्यमान कानुन अनुसार विदेशी लगानी भएको कम्पनीमा २० प्रतिशत स्वामित्व नेपाली नागरिकको हुनुपर्ने भएकाले आजियटाले श्रेष्ठलाई नेपाली प्रतिनिधिका रूपमा चयन गरेको थियो।

यद्यपि श्रेष्ठको कम्पनी सुनिभेरा भेन्चर्स भने सिङ्गापुरमा दर्ता भएको छ। आजियटाले हाल बेलायतमा दर्ता रहेको स्पेक्ट्रलाइटलाई बिक्री गरेको भनिएको स्वामित्वको खरिदकर्तामध्येका सतीशलाल आचार्य श्रेष्ठकै श्रीमान् हुन्। यससँगै एनसेलको स्वामित्वमा एउटै समूह हाबी हुन पुगेको छ। यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *