‘कौडीको भाउ’ मा एनसेल बिक्री भएपछि कर छली भएको संसदीय समितिको आशंका

शंकास्पद रूपमा भएको एनसेलको सेयर खरिद–बिक्रीबारे संसद्को सार्वजनिक लेखा समितिले नियामक निकायहरूसँग जवाफ मागेको छ । नियामक निकायहरूलाई थाहै नदिई मलेसियन टेलिकम कम्पनी आजियाटा ग्रुपले एनसेलमा रहेको आफ्नोस्वामित्वको ८० प्रतिशत सेयर बेलायतमा दर्ता भएको स्पेक्ट्रलाइट कम्पनीलाई बिक्री गरेको तथ्य बाहिरिएपछि समितिले चासो देखाएको हो ।

लेखा समितिले आइतबार तीनवटा नियामक निकाय आन्तरिक राजस्व विभाग, नेपाल दूरसञ्चार प्राधिकरण र कम्पनी रजिस्ट्रारको कार्यालयलाई पत्राचार गर्दै लेखेको छ, ‘एनसेलको विदेशी होल्डिङ कम्पनीको स्वामित्वमा रहेको कम्पनीको सेयर खरिद–बिक्री वा हक हस्तान्तरण गर्दा कम्पनीले सेवा प्रवाह गरिरहेको मुलुकको कानुनी व्यवस्था परिपालना गर्नुपर्ने, नपर्ने के हो ?’

लेखाले यो विषयमा छलफलको तयारी गरिरहेको समिति सचिव एकराम गिरीले बताए । उनले भने, ‘समितिले यो विषयमा छलफल बोलाउनुअघि नियामक निकायहरूसँग प्रारम्भिक जानकारी मागेको हो । छलफल गर्नुअघि तथ्य–प्रमाण प्राप्त गरेर तयारीसहित छलफल गराउने उद्देश्य हो । एनसेल सेयर खरिद–बिक्रीमा त पुरानै विषय पनि बाँकी छन् ।’

गत शुक्रबार आजियाटाले प्रेस विज्ञप्ति जारी गर्दै सेयर खरिद–बिक्रीबारे जानकारी गराएको थियो । यसका आधारमा सञ्चारमाध्यममा आइरहेका टीका–टिप्पणीलाई आधार बनाई जानकारी माग गरिएको सहसचिव गिरीले बताए ।

लेखा समितिले एनसेल सेयर खरिद–बिक्रीमा मूलतः आकर्षित हुने कानुन परिपालना भएकोमा संशय व्यक्त गरेको छ । दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (ट) बमोजिम चुक्ता पुँजीको ५ प्रतिशत सेयर खरिद–बिक्री गर्नुअघि नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति लिनुपर्छ । यो खरिद–बिक्रीमा कानुन पालना भएकोमा संशय व्यक्त गर्दै समितिले पालना नभएमा कारबाहीको व्यवस्थाबारे समेत जानकारी गराउन पत्राचार गरेको छ ।

कम मूल्यमा सेयर कारोबार सम्झौता भएको विषयमा नियमनकारी निकायको धारणा पनि समितिले मागेको छ । पत्रमा उल्लेख छ, ‘यसअघि भएको कारोबारभन्दा निकै कम मूल्यमा होल्डिङ कम्पनीबीच सेयर कारोबार सम्झौता हुनुको कारणलाई नियमनकारी निकायले कुन रूपमा लिएको छ ?’

सन् २०१६ मा एक अर्ब ३६ करोड ५१ लाख डलर (तत्कालीन समयको विनिमय दरअनुसार करिब एक खर्ब ४३ अर्ब रुपैयाँ)मा खरिद गरेको सेयर आजियाटाले पाँच करोड अमेरिकी डलर (करिब ६ अर्ब ६६ करोड नेपाली रुपैयाँमा) बिक्री सम्झौता गरेको जनाएको छ । आजियाटाले खरिद गरेको मूल्यको अत्यन्तै कम मूल्यमा एनसेलको स्वामित्व बिक्री गर्दै बाहिरिने सम्झौता गरेपछि आशंका बढेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर