दबाबपछि फेरियो प्रचण्डको बोली, टिकटक खुलाउन वरिष्ठ अधिकारी भेटघाटमा व्यस्त

हालै टिकटकले आफैं पनि पीडित रहेको बताएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दबाबपछि टिकटक खुलाउन लचिलो भएका छन्।

प्रधानमन्त्री प्रचण्डले सोमबार सम्पादकहरूसँग छलफलका क्रममा टिकटकमाथि लगाइएको प्रतिबन्धबारे पुनर्विचार गर्न सकिने बताएका थिए। जबकि उनी आफैं पनि टिकटक प्रतिबन्ध उचित भएको र यसबाट आफू पनि पीडित रहेको बताउँदै आएका थिए। यहाँसम्म कि सबै दलहरूको सहमतिमा टिकटकमाथि प्रतिबन्ध लगाइएको भन्नसम्म उनी पछि परेनन्।

उनकै अध्यक्षताको मन्त्रिपरिषदले नियमन गर्नै नसकिने निष्कर्षसहित यसमाथि प्रतिबन्ध लगाएको थियो। तर, अहिले नियमन भन्दै उनी प्रतिबन्ध खुलाउनेतर्फ लचिलो भएको जस्तो अभव्यक्ति दिइरहेका छन्।

प्रधानमन्त्री प्रचण्डको यस्तो अभिव्यक्ति त्यति बेला आएको हो जति बेला टिकटकका एक उच्च अधिकारी काठमाडौं आएका छन्। यसको अन्तर्य टिकटकका अधिकारीको नेपाल आगमनले उनी दबाबमा परेको जस्तो देखिन्छ।

प्रतिबन्धविरूद्ध सर्वोच्च अदालतमा दायर एक दर्जनभन्दा बढी रिट निवेदनलाई एकसाथ राखी मंगलबारबाट सुनुवाइ गर्ने भनिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा पर्‍याे। ती सबै रिट निवेदनको सुनुवाइका लागि न्यायाधीशद्वय सुष्मालता माथेमा र विनोद शर्माको संयुक्त इजलास तोकिएको थियो।

यसअघि सर्वोच्च अदालतको एकल इजलासले सरकारी निर्णयविरूद्ध कारण देखाऊ आदेश जारी गर्दै उक्त मुद्दालाई प्राथमिकतामा राखी सुनुवाइ गर्ने निर्णय गरेको थियो।

‘सामाजिक सद्भाव र वातावरणमा खलल पुर्‍याउन भूमिका खेलेको’ भन्दै सरकारले गत महिना टिकटक बन्द गर्ने निर्णय गरेको थियो।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालय र प्रधानमन्त्रीका एक विज्ञले टिकटकका उच्च अधिकारी नेपाल आएका पुष्टि गरेका छन्।

हाल काठमाडौंमा रहेका दक्षिण एशियाका लागि टिकटकका सार्वजनिक नीति तथा सरकारी सम्बन्ध मामिला प्रमुख फिरदौस मोत्तकिनले आफूलाई पनि भेट्न खोजिरहेको प्रधानमन्त्री प्रचण्डका सूचना तथा प्रविधिविज्ञ प्रकाश रायमाझीले बताए।

पेसाले सूचना प्रविधि इन्जिनियर तथा सार्वजनिक नीतिविज्ञ रहेका बंगलादेशका मोत्तकिन सन् २०२२ को नोभेम्बरमा टिकटकका लागि सो पदमा नियुक्त भएका थिए।

सञ्चार मन्त्रालयका प्रवक्ताले पनि मोत्तकिनको टोलीबाट आफूहरूलाई इमेल प्राप्त भएको पुष्टि गरे।

प्रधानमन्त्रीका सूचना तथा प्रविधिविज्ञले छलफल गर्ने हिसाबले नै मोत्तकिन नेपाल आएको हुन सक्ने बताए।

मोत्तकिन मात्रै काठमाडौं आएका हुन् अथवा उनीसँग टिकटकका अरू पदाधिकारी पनि छन् भन्नेबारे सरकारी अधिकारीले केही खुलाएका छैनन्।

त्यसैगरी टिकटकका उच्च अधिकारीले काठमाडौंमा कसकसलाई भेट्ने हुन् भन्नेबारे पनि केही स्पष्ट पारिएको छैन।

नेपालमा टिकटक प्रतिबन्धविरूद्ध मत विभाजित भए पनि अधिकांशले यसलाई प्रतिबन्ध गर्नु उचित भएको प्रतिक्रया दिएका थिए र दिइरहेका छन्। वास्तवमै सामाजिक सद्भाव बिथोल्नेसँगै टिकटक नेपालमा विकृति फैलाउने माध्यमजस्तो बनेको थियो।

अर्को यथार्थ के पनि हो भने चिनियाँ सामाजिक सञ्जाल टिकटक जोखिमपूर्ण रहेको युरोपेली संघ (ईयू) सहित विकसित राष्ट्रहरू खुट्याएर नै प्रतिबन्ध लगाएका छन्। सुरक्षामा खतरा, गोप्य डाटा चोरीलगायत कारण टिकटकमाथि विकसित राष्टहरू नै प्रतिबन्ध लगाउन बाध्य बनेका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर