‘एनसेलको सेयर खरिद बिक्रीको जानकारी छैन’ : कम्पनी रजिस्ट्रार

कम्पनी रजिस्ट्रार कार्यालयले दूरसञ्चार सेवा प्रदायक एनसेल आजियटा लिमिटेडको सेयर स्वामित्व खरिद बिक्रीको कुनै आधिकारिक जानकारी नभएको जनाएको छ । संसद्को सार्वजनिक लेखा समितिलाई पत्र लेख्दै सो कार्यालयले दर्ता किताबमा रेनोल्ड होल्डिङ्स लिमिटेडको नाममा रहेको ८० प्रतिशत स्वामित्व रहेको देखिएको र त्यसको बिक्रीसम्बन्धी कुनै आधिकारिक कागजात पेस नभएको उल्लेख गरेको छ ।

पत्रमा कार्यालयले सेयर खरिद बिक्री गर्दा सेवा प्रवाह गरिरहेको मुलुकको कानुनी व्यवस्था पालना गर्नुपर्ने जनाएको छ । खरिद बिक्रीसम्बन्धी कुनै कागजात प्राप्त नभएकाले नेपाल दूरसञ्चार प्राधिकरणबाट त्यसको पूर्व अनुमति लिए नलिएको पनि जानकारीमा नरहेको कार्यालयले उल्लेख गरेको छ ।

खरिद बिक्रीको मूल्यका सम्बन्धमा कार्यालयले अनभिज्ञता प्रकट गरेको छ । कागजात नै पेस नभएकाले कम मूल्यमा स्वामित्व हस्तान्तरण भएको भन्ने विषय आधिकारिक जानकारीमा नरहेको पत्रमा उल्लेख छ ।

कम्पनी ऐन, २०६३ को दफा १२ बमोजिम पाँच करोड रुपियाँभन्दा बढी चुक्ता पुँजी भएको दूरसञ्चार सेवा प्रदायक पब्लिक कम्पनी हुनुपर्ने व्यवस्था अनुसार एनसेल प्रालिबाट २०७७ साउन ८ गते पब्लिक कम्पनी भएको कार्यालयले उल्लेख गरेको छ ।

कागजात पाएपछि प्राधिकरणलाई बुझाउँछौँ : एनसेल

स्वामित्व खरिद सम्झौताको कागजात सङ्कलन भएपछि नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई उपलब्ध गराउने जानकारी एनसेल आजियटा लिमिटेडले दिएको छ । स्वामित्व खरिद बिक्री गर्दा पूर्वस्वीकृति लिनुपर्ने कानुनी प्रावधान कार्यान्वयन नगरेको भन्दै प्राधिकरणले मङ्सिर १५ गते लेखेको पत्रको जवाफमा एनसेलले यस्तो जानकारी दिएको हो ।

एनसेलको मुख्य लगानीकर्ता आजियटा बरहद समूहले कम्पनीको सेयरधनी रेनोल्ड होल्डिङ लिमिटेडको स्वामित्वमा रहेको ८० प्रतिशत सेयर बेलायतमा दर्ता भएको स्पेक्ट्रलाइट युके लिमिटेडलाई बिक्री गरेपछि दूरसञ्चार नियमावलीबमोजिम पूर्वस्वीकृति नलिएको भन्दै प्राधिकरणले एनसेललाई सोधपुछ गरेको थियो । त्यसैको प्रतिक्रिया स्वरूप एनसेलले सम्झौताको सम्पूर्ण कागजात सङ्कलन भएपछि नियामकलाई उपलब्ध गराउने जनाएको हो ।

एनसेलमा रहेको आफ्नो ८० प्रतिशत स्वामित्व नेपाली मूलका सिङ्गापुरका नागरिक सतिशलाल आचार्य निर्देशक रहेको स्पेक्ट्रलाइट युके लिमिटेडलाई बिक्री गरेर बाहिरिएपछि अहिले त्यो चर्चाको विषय बनेको छ ।

एनसेलले प्राधिकरणलाई पत्र लेखेर स्वामित्व खरिद बिक्रीका क्रममा दुई पक्षबिच भएका सम्झौताका कागजात तदारुकताका साथ सम्बन्धित पक्षबाट सङ्कलनका क्रममा रहेको जानकारी दिएको हो । प्राधिकरणलाई लेखेको पत्रमा एनसेलले कम्पनी कानुनको शासनमा विश्वास गर्ने जिम्मेवार संस्था भएकाले आफ्नो कानुनी कर्तव्य पालनामा सदैव जागरुक र कटिबद्ध रहेको उल्लेख गरेको छ । कागजात सङ्कलन भएपछि सेयर खरिद बिक्री स्वीकृतिका लागि प्राधिकरणसमक्ष पेस गरिने एनसेलले जनाएको छ ।

एनसेल खरिद बिक्रीविरुद्ध रिट दायर 

दूरसञ्चार सेवा प्रदायक एनसेलको सेयर खरिद बिक्री प्रक्रिया कानुनविपरीत भएको भन्दै रोक लगाउने आदेशको माग गर्दै उच्च अदालत पाटनमा रिट दायर भएको छ । गोकुलबहादुर रोकायाका तर्फबाट बुधबार रिट दर्ता भएको हो । प्रारम्भिक सुनुवाइ बिहीबारका लागि तोकिएको छ । रोकायाले प्रक्रिया रोक्न माग गर्नुभएको हो ।

एनसेलको ८० प्रतिशत सेयर स्वामित्व हालै स्पेक्ट्रलाइट युके लिमिटेडले किनेको थियो । रिटमा दूरसञ्चार नियमावली २०५४ को नियम १५ विपरीत चुक्ता पुँजीको पाँच प्रतिशतभन्दा बढी सेयर बिक्री भएकाले कम्पनी ऐन अनुसारको सेयर दर्ता किताबमा नयाँ सेयरधनी कायम गर्ने प्रक्रिया रोक्न आदेशको माग गरिएको छ । यस्तै सेयर खरिद बिक्री सम्झौता अदालतमा पेसको आदेश पनि माग गरिएको छ ।

खरिद बिक्रीमा अस्वाभाविक मूल्य कायम भएको भन्दै छानबिनका लागि दूरसञ्चार प्राधिकरणलाई आदेश जारी गर्न पनि रिटमा माग गरिएको छ । रिटमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, कम्पनी रजिस्ट्रारको कार्यालय, दूरसञ्चार प्राधिकरण, नेपाल धितोपत्र बोर्ड तथा एनसेललाई विपक्षी बनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर