सर्वोत्कृष्ट सूचनामूलक भिडियो बनाउने र सगरमाथामा इन्टरपोलको झण्डा फहराउने प्रहरी सम्मानित

अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) द्वारा आयोजित प्रतियोगितामा सर्वोत्कृष्ट सूचनामूलक छोटो भिडियो निर्माण गर्ने नेपाल प्रहरीका कर्मचारी सम्मानित भएका छन्।

भिडियो निर्माणकर्ता प्रहरी निरीक्षकद्वय नारायण थापा र उमेश गुरूङ श्रेष्ठ तथा सगरमाथामा नेपालको राष्ट्रिय झण्डा, इन्टरपोलको झण्डा र नेपाल प्रहरीको झण्डा फहराउन सफल प्रहरी वरिष्ठ नायब निरीक्षक पुरूषोत्तम नेपालीलाई नेपाल प्रहरी पूर्व संगठन प्रमुख मञ्चले सम्मान गरेको हो।

उक्त मञ्चद्वारा सोमबार नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो। कार्यक्रममा मञ्चका अध्यक्ष पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहराले प्रहरी निरीक्षकद्वयको सम्मान प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई हस्तान्तरण गरे भने प्रहरी वरिष्ठ नायव निरीक्षक नेपालीलाई समेत सम्मान गरे।

कार्यक्रममा पूर्व प्रहरी महानिरीक्षक बोहराले नेपाल प्रहरीले इन्टरपोलमा प्राप्त गरेको यस ऐतिहासिक उपलब्धिले पूर्व प्रहरीहरूको समेत गौरव बढेको बताए। यस्ता अभिनव सोच र साहसिक कार्यहरूले अन्य प्रहरी कर्मचारीहरूलाई समेत प्रोत्साहन मिल्ने चर्चा गर्दै यसले नेपाल प्रहरीलाई महत्त्वपूर्ण कार्यहरू जिम्मेवारीका साथ वहन गर्न थप हौसला र प्रेरणा मिलोस् भन्ने कामना गरे।

उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले धन्यवाद ज्ञापन गर्दै इन्टरपोलको शताब्दी वर्षको अवसरमा नेपाल प्रहरीले नेपालको प्रतिनिधित्व गरेर नेपाल र नेपालीको सम्मान बढाउन सफल भएको बताए। यस सिर्जनशील कार्यमा पूर्व प्रहरी कर्मचारीहरूको समेत योगदान रहेको चर्चा गर्दै यस उपलब्धिले अन्तर्राष्ट्रिय प्रहरी समन्वयलाई नयाँ शिखरमा पुर्‍याएको र आगामी दिनमा अन्तर्राष्ट्रिय समन्वय थप प्रभावकारी रूपमा गर्न सहज हुने उनले उल्लेख गरे।

सम्मानित हुने प्रहरी निरीक्षकद्वय नारायण थापा र उमेश गुरूङ श्रेष्ठले नेपाललाई प्रतिनिधित्व गर्दै निर्माण गरेको ‘ग्रहको संरक्षण गरौं- इन्टरपोल १००’ विषयक सूचनामूलक छोटो भिडियो इन्टरपोलले आयोजना गरेको ‘युवा प्रहरी नेतृत्वका लागि १०० विश्वव्यापी भिडियो प्रतियोगिता’ मा सहभागी इन्टरपोलका १९५ सदस्य राष्ट्रहरूमध्ये नेपाल सर्वोत्कृष्ट घोषित भएको थियो।

यसैगरी सम्मानित हुने प्रहरी वरिष्ठ नायब निरीक्षक पुरूषोत्तम नेपाली इन्टरपोल स्थापनाको १०० वर्षको अवसरमा नेपालको तर्फबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी चुचुरोमा नेपालको राष्ट्रिय झण्डा, इन्टरपोलको झण्डा र नेपाल प्रहरीको झण्डा फहराउन सफल भएका थिए।

सम्मान कार्यक्रममा अवकाशप्राप्त प्रहरी महानिरीक्षकहरूलगायत प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर