वीरगञ्ज युनाइटेडको पहिलो जित

विवादित बनेको पेनाल्टी गोलबाट वीरगञ्ज युनाइटेडले नेपाल सुपर लिग(एनएसएल) मा बुधवार पहिलो जित निकालेको छ ।
दशरथ रंगशालामा भएको पुछारका दुई टोलीबीचको भिडन्तमा खेलको इन्जुरी समयमा पाएको पेनाल्टीबाट डेब्युटेन्ट टोली वीरगञ्जले स्पोर्टिङ इलाममाथि २–१ को जित निकाल्दै जारी दोस्रो सिजन पहिलो तीन अंक बटुलेको हो ।

खेलका रेफ्री कविन ब्यन्जनकारले स्पोर्टिङ इलामका सुरज बस्नेतले फउल गरेको भन्दै वीरगञ्जलाई पेनाल्टी अवसर दिएका थिए । त्यससँगै इलामका गोलकिपर विकेश कुथू र उनको टोली आक्रामक बने । ९३ औं मिनेटमा पाएको सो पेनाल्टीमा विलियम ओपोकुले गोल गर्दै वीरगञ्जलाई रोमाञ्चक जित दिलाए ।

रेफ्री कविनले अन्तिम सिट्ठी फुकेसँगै इलामका टोली नै रेफ्रीमाथि जाइलागे । त्यस क्रममा गोलकिपर कुथूले रातो कार्ड सामना गरे । इलामको टोलीको आक्रमण शान्त बनाउन खेलमा रहेका सुरक्षाकर्मीलाई नै हम्मेहम्मे प¥यो । स्पोर्टिङ इलामले अग्रता जोगाउन नसक्दा बुधवार वीरगञ्जसँग हारको सामना गर्नुपरेको हो ।

यो जितसँगै वीरगञ्ज पाँच खेलबाट पाँच अंक बटुल्दै इलामलाई नै पछि पारेर आठौं स्थानमा उक्लियो । स्पोर्टिङ इलाम भने ६ खेलबाट चार अंकसहित पुछारमा झ¥यो । स्पोर्टिङ इलामले एक जित, एक बराबरी र चार हार सामना गरेको छ ।
त्यसअघि खेलको पहिलो आक्रमणमा नै स्पोर्टिङ इलामले आशिष चापागाईको गोलबाट अग्रता लियो । डिफेन्डर सुरज बस्नेतले दिएको लामो पास नियन्त्रणमा लिएका आशिषले पेनाल्टी क्षेत्रबाटै उत्कृष्ट गोल गरे । १८ औं मिनेटमा फोडे क्यामराले करिब १२ यार्डबाट गोल गर्न सकेनन् ।

अनमार्क रहेका उनको प्रहार आकासियो । दुई मिनेटपछि नै ओमार थियोमको सट पनि पोस्टको दिशा लिन असफल भयो । २१औं मिनेटमा वीरगञ्जले आक्रमण बुने पनि त्यो सफल हुन सकेन । वीरगञ्ज ३३औं मिनेटमा बिसन गुरुङको गोलबाट खेलमा फर्कियो ।

सुशील लामाको लामो पास नियन्त्रणमा लिने क्रममा उनले अफसाइड बिट गर्दै पेनाल्टी क्षेत्रबाटै गोल गरेका हुन् । चार मिनेटपछि नै सुशील लामाको लामो प्रहार इलामका गोलकिपर विकेश कुथुका लागि समस्या बनेनन् ।

त्यससँगै पहिलो हाफ १–१ को बराबरीमा सकियो । दोस्रो हाफमा राम्रो अवसर सिर्जना हुन ७१ औं मिनेट पर्खनुपर्याे । विलियम ओपोकुको पेनाल्टी बक्स भित्रबाट गोल गर्ने अवसर खेर फाले । उनको प्रहार दोस्रो बार हुँदै बाहिरियो । इन्जुरी समयमा विलियम ओपोकुको पेनाल्टी गोलबाट वीरगञ्जले २–१ रोमाञ्चक जित निकाल्यो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *