परराष्ट्र मन्त्रालयले पायो पहिलो महिला सचिव

सहसचिव सेवा लम्साल सचिवमा बढुवा भएकी छन् । बिहीबारको मन्त्रिपरिषद बैठकले उनलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

यससँगै उनको परराष्ट्र मन्त्रालयमा पदस्थापनसमेत भएको छ । परराष्ट्र सेवाको ७२ वर्षको इतिहासमा मन्त्रालयले पहिलो महिला सचिव पाएको हो ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा शुक्रबार सिंहदरबारमा बसेको बढुवा सिफारिस समितिको बैठकले परराष्ट्रतर्फ रिक्त एक सचिव पदका लागि सहसचिव लम्सालको एकल नाम सिफारिस गरेको थियो । बढुवासँगै लम्सालको परराष्ट्र मन्त्रालयको सचिवमा पदस्थापन पनि भएको छ ।

मन्त्रालयका सचिव भरतराज पौड्याल राजदूतमा सिफारिससँगै गत साता अनिवार्य अवकाशमा गएपछि रिक्त भएको मन्त्रालयको सचिव पदमा सहसचिव लम्सालको नाम मात्रै सिफारिस भएको थियो । यससँगै सचिव लम्सालले परराष्ट्र मन्त्रालयको पहिलो महिला सचिवको रूपमा इतिहास रचेकी छन् ।

सन् १९४८ मा पहिलो परराष्ट्रसचिव सरदार नरेन्द्रमणि आचार्य दीक्षितदेखि भरतराज पौड्यालसम्म ७२ वर्षमा २४ जना सचिवले परराष्ट्रको प्रशासनिक कमाण्ड सम्हाल्दै गर्दा २५ औं सचिवका रूपमा लम्सालले पहिलो महिला सचिवका रूपमा मन्त्रालय सम्हाल्ने भएकी छन् ।

सेवाअघि परराष्ट्र सेवामा दुई जना महिला सहसचिव भएका थिए । तर, उनीहरू सचिव बन्न सकेनन् । विन्देश्वरी शाह र अम्बिका मानन्धर सहसचिवबाट अनिवार्य अवकाशमा गएका थिए । नेपालकी पहिलो महिला राजदूत विन्देश्वरी शाह मन्त्रालयको ‘अतिरिक्त सचिव’ सम्म भइन् ।

२०४९ मा अकस्मात ल्याइएको निजामती सेवामा ३० वर्षे उमेर हदका कारण सचिव बन्नै नपाई शाहले अवकाश पाइन् । उनी परराष्ट्र सेवाकी पहिलो नेपाली महिला सहसचिव बनेकी थिइन् । त्यस्तै उनी फ्रान्सका लागि नेपाली राजदूत भएकी थिइन् । हाल परराष्ट्र सेवामा रीता धिताल सहसचिव छिन् ।

२०५५ सालमा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी लम्सालको सेवा अवधि २५ वर्ष पुग्नै लाग्दा परराष्ट्रसचिवको पदमा पुगेकी छन् । परराष्ट्रमा उपसचिव भई सेवा सुरू गरेकी सेवा पासपोर्ट विभागबाट परराष्ट्रसम्म पुगेकी हुन् ।

२०६७ मा परराष्ट्र सेवामा उपसचिवका रूपमा प्रवेश गरेकी लम्सालको निजामतीको यात्रा भने २०५५ सालमा सामान्य प्रशासन सेवाबाट भएको थियो। परराष्ट्रमा आएको एक वर्षमै सहसचिवमा नाम निकालेर लम्सालले करिब डेढ दशक परराष्ट्र सेवामा रहेर काम गरेको अनुभव छ । मन्त्रालयमा प्रवक्ताको भूमिका समेत निर्वाह गरिरहेकी लम्साल वि. सं. २०७३ देखि २०७७ सालसम्म पाकिस्तानका लागि नेपाली राजदूत भइन् भने २०७७ सा देखि संयुक्त राष्ट्रसंघ अन्तर्राष्ट्रिय संघसंस्था र अन्तर्राष्ट्रिय कानुन विभागमा काम गरेकी थिइन् ।

सेवाले इरान, टर्की, कीर्गिस्तान, ताजकिस्तान, तुर्केमिनिस्तान र उज्वेकिस्तानको समेत राजदूतको जिम्मेवारी सम्हालेकी थिइन् ।

सचिव बढुवा भएसँगै सेवाले परराष्ट्र मन्त्रालयअन्तर्गतका ३५८ जना कर्मचारीको नेतृत्व गरेकी छन् । लम्साल परराष्ट्र मन्त्रालयको पहिलो महिला सचिव नियुक्त भएसँगै निजामती इतिहासमा पनि पहिलो पटक नौ जना महिला विशिष्ट श्रेणी अर्थात् सचिव भएका छन् । हाल ७४ जना सचिव कार्यरत छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर