कांग्रेसको महासमिति बैठक तेस्रो पटक सर्‍याे, राष्ट्रियसभा उम्मेदवार छान्ने जिम्मा देउवालाई

सत्तारूढ दल नेपाली कांग्रेसले महासमितिको बैठक तेस्रो पटक सरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमितिको बैठक आगामी फागुन ७ गतेदेखि १० गतेसम्म सार्ने निर्णय गरेको हो ।

बैठकपछि निर्णय सुनाउँदै नेता मिनबहादुर विश्वकर्माले महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म गोदावरीको हलमा गर्ने निर्णय भएको बताए ।
यसअघि पहिलो पटक मंसिर २९ देखि पुस २ सम्म महासमिति बैठक गर्ने केन्द्रीय समितिले निर्णय गरेको थियो । तर, सो मितिमा गर्न नसकिने भन्दै बैठक सारेर पुस १६ देखि १९ गते सम्म पुर्‍याएको थियो ।

बैठक सार्नुको कारण राष्ट्रियसभाको निर्वाचन रहेको बताइएको छ । उनले राष्ट्रियसभाको निर्वाचनमा पार्टीको तर्फबाट भाग लिनका लागि दल दर्ता गर्ने निर्णय भएको र उम्मेदवार चयन गर्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिइएको बताए ।

उनले निर्वाचन र दल दर्ताको व्यवस्थापन गर्नका लागि पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई तोक्ने निर्णय भएको बताए ।

त्यस्तै बैठकले केन्द्रीय कार्यसमितिको बैठक पुस १२ गते बस्ने र विधानका केही व्यवस्थाहरू महासमितिमा सिफारिस गर्ने निर्णय भएको बताए । भूकम्पपीडितलाई सरकारबाट घोषणा गरिएको ५० हजार रूपैयाँ दिन अझै नसकेको बारे सरकारको ध्यानार्षण गराउने र अस्थायी टहरा निर्माणका लागि सरकारलाई दबाब दिने निर्णय भएको पनि बताए ।

नेता विश्वकर्माले बैठकले पुस १६ देखि माघ १६ सम्म पार्टीको विशेष आन्तरिक अभियान सञ्चालन गर्ने निर्णय भएको पनि बताए । उनले पार्टीका विधानमा रहेका केही अनुसूची परिमार्जन गर्ने, पार्टीको तर्फबाट समानुपातिकको बन्दसूचीमा रहेका केही केन्द्रीय सदस्यहरूको नाम आजै फिर्ता लिने निर्णय भएको पनि बताए ।

उनले बारामा शिक्षकहरूको शान्तिपूर्ण धर्नामा भएको घटनाको भत्र्सना गर्ने र तत्काल दोषीमाथि कारबाही गर्न र मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेलाई निःशुल्क उच्चस्तरीय स्वास्थ्योपचार गर्नका लागि माग गर्ने निर्णय भएको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर