सर्वोच्चबाट अवकाश हुँदा पनि निर्विवाद निस्कन चाहन्छु : प्रस्तावित न्यायाधीश पौडेल

सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश महेश शर्मा पौडेलले सर्वाेच्च अदालतबाट अवकाश हुँदा कुनै विवादमा नफसीकन निस्कन चाहेको बताएका छन्।

आइतबार सिंहदरबारमा संसदीय सुनुवाइका क्रममा सांसदहरूले उठाएका जिज्ञासाहरूको जवाफ दिँदै उनले आफूले ३० वर्षे न्यायिक सेवा निष्ठा र इमान्दारितका साथ बिताएको दाबी गरे ।

प्रस्तावित न्यायाधीश पौडेलले आफूले हिंसाले राज्यको आत्मालाई अशक्त बनाउने र भ्रष्टाचारले राज्यको आत्मा नै मारिदिने निष्कर्ष निकालेकाले त्यस्ता काममा आफू नलाग्ने अठोटका साथ काम गरिरहेको जिकिरसमेत गरे ।

पौडेलले आगामी दिनमा सर्वाेच्च अदालतमा मुद्दा फर्स्योटको कामले गति लिने विश्वाससमेत व्यक्त गरे । उनले भारत र पाकिस्तानमा भन्दा नेपालको सर्वोच्च अदालतले मुद्दा फर्स्योटको कामलाई छिटो सम्पन्न गर्ने गरेको दाबीसमेत गरे ।

अर्का प्रस्तावित न्यायाधीश टेकप्रसाद ढुंगानाले आफूले संघीयताको बारेमा न्यायकर्मीहरूबीच छलफल गराउन कोसिस गर्ने प्रतिबद्धता व्यक्त गरे । राजनीतिक तहमा मात्रै संघीयताबारे धेरै छलफल भए पनि अदालतमा त्यसको छलफल नभएकाले त्यसमा जोड दिन आवश्यक रहेको उनको तर्क थियो ।

ढुंगानाले न्यायकर्मीहरूको बीचमा संघीयताबारे बहस चलाउने काममा पहल गरिदिन सरकार र सांसदहरूलाई आग्रह गरे । ढुंगानाले संविधानको रक्षा गर्ने जिम्मेवारी अदालतलाई भएकाले पनि न्यायकर्मीहरूमाझ संघीयताबारे घनीभूत छलफल आवश्यक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर