सेनाका दुई मेजरसहित दर्जन बढी अधिकारीदेखि जवानसम्मलाई कारबाही

नेपाली सेनाले आचारसंहिताविपरीतका गतिविधि गर्ने आफ्ना दुई सेनानी (मेजर) सहित दर्जन बढी कर्मचारीलाई कारबाही गरेको छ ।

उनीहरूका गतिविधिविरूद्ध उजुरी परेपछि गठित सैनिक अदालतले गरेका कारबाहीसम्बन्धी फैसलालाई प्रधानसेनापति प्रभुराम शर्माले सदर गरेका हुन् । यसरी कारबाहीमा पर्नेमा दुई मेजरसहित दर्जन अधिकारी र जवानसम्म छन् ।

महिला कर्मचारीलाई गलत मनशायले फोन तथा सामाजिक सञ्जालमा म्यासेज पठाएको आरोपमा एक जना मेजर कारबाहीमा परेका छन् । शिक्षार्थीको रूपमा सैन्य आधारभूत तालिम गरिरहेकी कर्मचारीलाई दुर्व्यवहार गरेको आरोपमा मेजर सूर्यबहादुर क्षेत्रीको दुई वर्षसम्मका लागि बढुवा रोक्का गरिएको हो ।

उनलाई ‘अनुशासन तथा आचरणसम्बन्धी कसुर’ अन्तर्गत सो कारबाही गरिएको हो । नम्बर २ सैन्य तालिम केन्द्रमा कार्यरत क्षेत्रीले ती महिला सैनिकलाई कोठा सफा गर्ने बहानामा निषेधित इलाका (पुरूष अधिकृतको कोठा) मा प्रवेश गर्न लगाएर दुर्व्यवहार गर्न खोजेको आरोप छ र

त्यसविरूद्ध उजुरी परेपछि मध्यपश्चिम पृतना हेडक्वार्टरका सहायक रथी कृष्णबहादुर जीसीको अध्यक्षतामा गठित समरी जनरल सैनिक अदालतले उनको दुई वर्षका लागि बढुवा रोक्काको फैसला सुनाएको हो ।

त्यस्तै आफूखुसी भाग्ने मेजर विवेक कार्कीलाई सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट निष्कासन गरिएको छ । २०७० जेठ ३० गतेदेखि बिनाजानकारी अनुपस्थित रहँदै आएका उनीविरूद्ध ‘भगौडासम्बन्धी कसुर गरेको’ मुद्दा पुर्पक्षका लागि विशेष फौज बाहिनीका सहायक रथी भुवन खत्रीको अध्यक्षतामा सैनिक अदालत गठन भएको थियो ।

यस्तै बिनाजानकारी वर्षौंअगाडि सम्पर्कविहीन भएका सिपाही खेमराज उपाध्यायलाई ३० दिन कैद र सरकारी सेवामा अयोग्य नठहरिने गरी जागिरबाट हटाउने फैसला भएको छ ।

उत्तरपश्चिम पृतना हेडक्वार्टर (तत्कालीन मध्यपश्चिम पृतना) मा कार्यरत उनलाई ‘भगौडासम्बन्धी कसुर गरेको’ अभियोगमा सजाय गरिएको हो । २०५१ जेठ ४ गते हाजिर हुने गरी घरबिदामा छोडिएका उनी एक पटक २९ वर्षपछि कार्यालयमा देखा परेका थिए । भदौ २४ गते हाजिर हुन आएका उनलाई गत असोज १८ गतेबाट गणना हुने गरी ३० दिनको कैद सुनाइएको र २०५९ जेठ ४ गतेबाट लागू हुने गरी सेवाबाट हटाइएको सेनाले जनाएको छ ।

इन्द्रध्वज गणका सिपाही धनबहादुर राई पनि सोही कसुरअन्तर्गत कारबाहीमा परेका छन् । उता बिनाजानकारी बेपत्ता भएका सिपाही अशोक रोकाको पाँच वर्ष बढुवा रोक्का भएको छ । नम्बर २३ बाहिनी अड्डामा कार्यरत उनको अनुपस्थित भएको आठ दिनको तलबसमेत काटेर राजस्व दाखिला गरिएको छ ।

त्यसैगरी अर्काको एटीएम चोरेर पैसा निकालेको अभियोग लागेका सिपाही नरबहादुर कटुवाललाई सम्पत्तिसम्बन्धी कसुरमा कारबाही गरिएको छ । महावीर सौर्य गण (रेञ्जर) मा रहेका उनले सैन्य सञ्जनकुमार यादवको झोलाबाट एटीएम निकालेर पटक-पटक गरी ७० हजार रूपैयाँ झिकेको आरोप छ ।

परीक्षा सञ्चालन नहुँदै आफ्नालाई प्रश्नपत्र बाँड्ने सिपाही नम्बर ३ बाहिनी अड्डा पोखरामा कार्यरत राज कोइरालाको तीन वर्ष बढुवा रोक्का गरिएको छ ।

विनायक दल गणमा कार्यरत कृष्ण पाण्डे २०६१ साउन २ गते हाजिर हुने गरी निस्किएर एकैचोटि गत भदौ २१ गते कार्यालयमा उपस्थित भएका थिए । उनलाई असोज २१ गतेबाट गणना हुने गरी ३० दिनको कैद सुनाइएको र सेवाबाट हटाइएको छ ।

१८ दिन बेपत्ता भएका अमल्दार दलबहादुर रानाको पद घटुवा गर्नुका साथै तलब पनि काटिएको छ । शिवदल गणमा कार्यरत उनी गत साउन १४ गतेबाट २२ दिन घरबिदामा थिए । तोकिएको समयमा नआएपछि श्रीमती लक्ष्मी रानाले बुझाउन ल्याएकी हुन् ।

जगदल गणमा कार्यरत गनर छविलाल भट्टराई र सन्तोष राउतलाई २०७१ असार ३२ र २०७२ पुस ८ गतेबाट लागू हुने गरी सेवाबाट निष्कासन गरिएको छ । तारबार नाघेर भागेका अमल्दार भीमकुमार राई पनि सेवाबाट हटाइएका छन् । रिपुमर्दन गणमा रहेका उनलाई कल्याणकारी योजना निर्देशनालय, ऋण शाखाबाट लिएको सहुलियतपूर्ण ऋण पनि चुक्ता गर्न लगाइएको थियो ।

चिट सारिरहेको अवस्थामा फेला परेकी प्युठ मीना न्यौपाने ‘अनुशासन तथा आचरणसम्बन्धी कसुर गरेको’ अभियोगमा कारबाहीमा परेकी छन् । रूरू भैरवदल गणमा कार्यरत उनले तालिमको मध्यावधि लिखित परीक्षामा चिट लगेको आरोप छ ।

यसैबीच घरायसी तथा व्यक्तिगत कारण देखाएर राजीनामा दिएका तीन सेनानी र एक सहसेनानीको राजीनामा स्वीकृत गरिएको छ । नम्बर १४ बाहिनी अड्डाका आशिष बस्नेत र श्रीनाथ गणका शिवशरण गुरूङको निवृत्तिभरणमा राजीनामा स्वीकृत भएको हो । त्यस्तै नयाँ गोरखगणका सेनानी दुर्गा सिजापती र नम्बर १६ बाहिनी अड्डाकी सहसेनानी रोश्री श्रेष्ठले उपदानमा दिएको राजीनामा पनि स्वीकृत भएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर