ठगी आरोपमा म्यानपावर सञ्चालकसहित दुई जना पक्राउ

नेपाली युवालाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा म्यानपावर सञ्चालकसहित दुई जना पक्राउ परेका छन् ।

वैदेशिक रोजगारीका लागि साउदी अरब पठाइदिने भन्दै ठगी गरेको आरोपमा काठमाडौँको पुरानो बानेश्वरस्थित ओसो रिक्रुटिङ म्यानपावरका सञ्चालकसहित दुई जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका-९ घर भई हाल काठमाडौँ महानगरपालिका-३१ बस्ने उक्त म्यानपावर सञ्चालक ४२ वर्षीय लक्ष्मण विश्वा र काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-१०, काभ्रेकी ४० वर्षीया सोफी मल्ल रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

उनका अनुसार उनीहरूले ओमबाबु साहलाई साउदी अरेबिया पठाइदिने भन्दै एक लाख २५ हजार रूपैयाँ रकम लिई सम्पर्कविहीन भएपछि पीडितको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर