केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधन हाल्ने सबै सांसदसँग एकैपटक छलफल गरिने

कानुन, न्याय तथा मानव अधिकार समितिले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधन हाल्ने सबै सांसदहरूसँग एकैपटक छलफल गर्ने भएको छ ।

समितिको बैठक आइतबार राखिएको थियो । आजको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा संशोधन प्रस्तावकर्ता सांसदहरूसँग छलफल गर्ने कार्यसूती रहेको थियो । सोहीअनुरूप संशोधनकर्ता केही सांसदहरूलाई बोलाइएको पनि थियो ।

तर, बैठकमा उपस्थित संशोधनकर्ता सांसदहरूले सबै संशोधनकर्ता सांसदहरूको सामूहिक उपस्थितिमा संशोधनमाथि छलफल गर्नुपर्ने आग्रह गरेपछि बैठक स्थगित भएको हो ।

समिति सभापति विमला सुवेदीले समिति सदस्यहरूको आग्रहबमोजिम आगामी बैठक पुस १६ गते बिहान ११ बजे बस्ने गरी बोलाइएको जानकारी गराइन् । उनले आगामी बैठकमा विधेयकमाथि संशोधन प्रस्ताव राख्ने सबै सांसदहरूलाई बोलाइने बताइन् ।

सभापति सुवेदीले आजको बैठकमा ६२ जना संशोधनकर्ताहरूमध्ये ५६ जनालाई खबर गरिएको भए पनि त्यसमध्ये १९ जनाले बैठकमा उपस्थिति जनाउने प्रतिबद्धता जनाएअनुरूप बैठक राखिएको पनि उल्लेख गरिन् । आगामी बैठकका लागि समितिले संशोधनकर्ताहरुलाई फोनसँगै म्यासेज पनि गर्ने उनको भनाइ छ ।

बैठकमा नेकपा (एमाले) का सांसद रघुजी पन्तले सबै संशोधनकर्ताहरूलाई एकैपटक बोलाएर संशोधन प्रस्तावमाथि छलफल गर्नुपर्ने बताए । उनले आफूहरूले सबै संशोधनकर्ताहरूको कुरा सुन्न चाहेको बताए । उनले सबैलाई एकैपटक नबोलाएर प्रतिनिधिसभा नियमावलीको अधिकार कुण्ठित गरिएको बताए ।

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमार्फत एकैपटक ४०/५० वटा ऐन संशोधन गर्नु राज्यप्रतिको डकैती भएको बताए । केही संशोधनकर्ताहरूलाई मात्रै बोलाएर संशोधनउपर छलफल गर्नु प्रक्रियागत त्रुटि भएको भन्दै उनले सबैलाई एकैपटक बोलाएर प्रक्रियागत रूपमा बैठक राख्नुपर्ने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले विधेयकमा सत्तापक्षका सांसदहरूले समेत संशोधन हालेका भन्दै सत्तापक्षीय सांसदहरू कुन कित्तामा उभिन्छन् आफूहरूले बैठकमै हेर्न चाहेको बताए । उनले पनि सबैलाई एकैपटक बोलाएर छलफल गर्नुपर्नेमा जोड दिनए ।

नेकपा( एमाले) की सांसद प्रतीक्षा तिवारीले पनि सबै संशोधनकर्ता सांसदहरूलाई सामूहिक रूपमा बोलाउनुपर्ने धारणा राखिन् ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सबै संशोधनकर्ता सांसदहरूको उपस्थितिमा बैठक राख्नुपर्ने सांसदहरुको धारणा जायज रहेको बताए । उनले पनि बैठक आगामी दिनमा संशोधनकर्ताहरूलाई संयुक्त रूपमा बोलाएर गर्नुपर्ने बताए ।

जनता समाजवादी पार्टी, नेपालकी सांसद रञ्जुकुमारी झाले सबै संशोधनकर्ता सांसदहरूलाई एकै पटक बोलाउनुपर्ने तर अर्को पटक नबोलाइने आशंका व्यक्त गरिन् । संशोधनकर्ताहरू एकैपटक बसेर छलफल गर्नुपर्ने उनको पनि धारणा रह्यो ।

बोल्ने सबै सांसदहरूले सबै संशोधनकर्ताहरू एकै टक उपस्थित भएर छलफल गर्नुपर्ने धारणा राखेपछि समितिको बैठक एक हप्ता पछि धकेलिएको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *