मेडिसिटी अस्पतालले सञ्चालनमा ल्यायाे ‘कम्प्रिहेन्सिभ ब्रेस्ट केयर सेन्टर’

नेपाल मेडिसिटी अस्पतालले आइतबारबाट कम्प्रिहेन्सिभ ब्रेस्ट केयर सेन्टर सञ्चालनमा ल्याएकोे छ । अस्पतालले महिलाहरूमा बढ्दै गएको स्तन क्यान्सर र उपचारको अभावका कारण मृत्यु व्यहोर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै उक्त सेन्टर सञ्चालनमा ल्याएको हो ।

कम्प्रिहेन्सिभ ब्रेस्ट केयर सेन्टरअन्तर्गत महिलाहरूले सबै किसिमका उपचार, निदान, स्तन रिकन्सट्रक्सन तथा जनचेतनाका लागि तालिमको सेवा एकै छतमुनिबाट प्राप्त गर्न सक्नेछन् । यस विभागबाट विभिन्न परीक्षण, शल्यक्रिया तथा शल्यक्रियापछि नक्कली स्तन राख्ने वा रिकन्स्ट्रक्सनको सुविधा पनि प्रदान गरिन्छ ।

सेन्टरको उद्घाटन नायिका तथा सामाजिक अभियन्ता मनीषा कोइराला, नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा र महिला उद्यमी महासंघ नेपालकी निवर्तमान अध्ययक्ष निरू रायमाझीबाट गरिएको हो ।

अस्पतालका अध्यक्ष उपेन्द्र महतोले नेपालीहरूलाई स्वदेशमै सम्पूर्ण सेवा प्राप्त होस् भन्ने उद्देश्यले विशेषज्ञ केन्द्रहरू एकपछि अर्को सञ्चालन गरेको बताए ।

कार्यक्रममा बोल्दै नायिका मनीषा कोइरालाले विदेशमा जसरी नै नेपालमा पनि क्यान्सर रोगको केन्द्रिकृत उपचार अभ्यास हुनुपर्ने बताइन् । उनले क्यान्सरको अनुभव साट्दै सबै किसिमका क्यान्सरको उपचार नेपालमै हुनुपर्ने जोड दिइन् । उनले ग्रामीण भेगका महिलाहरूमा पनि उपचारको पहुँच भएको हेर्ने आफ्नो सपना रहेको बताइन् ।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्ययक्ष भवानी राणाले नेपाल मेडिसिटीमा स्तन क्यान्सरको सबै उपचार सम्भव भएकोमा खुसी व्यक्ति गरिन् । उनले महासंघसँग जोडिएका ग्रामीण भेगका महिलाहरूमा जनचेतना फैलाउन आफूले पनि सहयोग गर्ने वाचा गरिन् ।

महिला उद्यमी महासंघ नेपालकी निवर्तमान अध्यक्ष निरू रायमाझीले महिलाहरूमा जनचेतनाको कमी रहेको बताइन् । उनले भनिन्, ‘हाम्रो स्वास्थ्य प्रणाली महिलामैत्री छैन । सरकारले महिलालाई आर्थिक रूपमा सशक्तीतकरण गर्ने उद्देश्य बोकेको छ, तर जबसम्म महिलाहरूको स्वास्थ्य सुरक्षित हुँदैन, तबसम्म आर्थिक रूपमा सशक्तीकरण गर्न सकिँदैन ।’

आफैंले छामेर पत्ता लाग्न सक्ने रोग भए तापनि कति महिलाहरूलाई कसरी जाँच्ने भन्ने विषयमा थाहै नभएको कम्प्रिहेन्सिभ ब्रेस्ट केयर सेन्टरकी प्रमुख तथा प्रिन्सिपल कन्सलटेन्ट डा. ज्योति रायमाझीले बताइन् ।

‘स्तन क्यान्सरबारे जानकारी तथा छामेर पत्ता लगाउन सक्ने गरी हामीले सेल्फ ब्रेस्ट एक्जामिनेसन ट्रेनिङ को व्यवस्था गरेका छौं,’ डा. ज्योतिले भनिन् ।

त्यस्तै स्तन क्यान्सर भन्नेबित्तिकै महिलालाई मात्र हुन्छ भन्ने भ्रम समाजमा फैलिएको भन्दै उनले यो गलत रहेको र पुरूषमा पनि स्तर क्यान्सर हुने बताइन्।

उनका अनुसार एक लाख महिलामा ११८ जनामा र एक लाख पुरूषमा एक जनामा स्तन क्यान्सर देखिने गरेको अध्ययनले देखाएको छ । ‘पुरूषहरूका लागि पनि हामीले सोही तरिकाबाट क्यान्सर पत्ता लगाउने तालिम प्रदान गर्दछौं,’ उनले भनिन् ।

तालिममा कस्ता ट्युमर क्यान्सर हुन् र कस्ता ट्युमरलाई उपचार नगर्दा पनि शरीरलाई केही असर पार्दैन भन्ने विषयमा पनि सचेत गराउने उद्देश्यका साथ यो सेन्टर स्थापना गरिएको डा. ज्योतिले बताइन् ।

त्यस्तै रेडियोलोजिस्ट तथा ब्रेस्ट इमेजिङमा फेलोसिप गरेकी डा. कुन्दना रायमाझीका अनुसार सबै स्तनको क्यान्सर छामेर पत्ता लगाउन सकिँदैन । यसका लागि म्यामोग्राम परीक्षण गराउनुपर्दछ । प्रारम्भिक चरणमै स्तन क्यान्सर छ वा छैन भन्ने पत्ता लगाउन म्यामोग्राम परीक्षण गरिन्छ ।

‘मटरको दानाभन्दा सानो क्यान्सरको गिर्खा हुँदा हातले भेट्न सकिन्न तर म्यामोग्राम परीक्षण गर्दा पत्ता लाग्छ । त्यस्तै क्यान्सर कुन स्टेजमा पुगेको छ भन्ने थाहा पाउन ग्रिर्खाको आकारमा भर पर्छ,’ डा. कुन्दनाले भनिन् ।

सामान्यतया म्यामोग्रामको परीक्षण ४० वर्ष नाघेपछि गरिन्छ भने ४० वर्षभन्दा कम उमेर समूहका महिलाहरूलाई स्तनको अल्ट्रासाउण्ड परीक्षण मात्र गराइन्छ । तर, जो महिलाको आमा अथवा परिवारमा कुनै व्यक्तिलाई स्तन क्यान्सर भएको छ भने स्तन क्यान्सर हुने जोखिम धेरै हुन्छ । त्यसैले ती महिलाले ३० देखि ३५ वर्षको उमेरमै म्यामोग्राम गराउन आवश्यक रहेको डा. कुन्दना बताउँछिन् ।

कम्प्रिहेन्सिभ ब्रेस्ट केयर सेन्टर खुलिसकेपछि बिरामीहरूले स्तनसम्बन्धी सबैखाले परीक्षण अस्पतालमै गर्न पाउनेछन् । दक्ष चिकित्सकहरूबाट जाँच्ने तथा सल्लाह लिने, स्तनको एमआरआई, बायोप्सी, यूएसजी, म्यामोग्राम परीक्षणदेखि सर्जरीको सेवा एकै ठाउँबाट लिन सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर