सर्वाेच्च पुग्याे चूडामणि शर्माविरूद्धकाे ४ करोड बढीको भ्रष्टाचार मुद्दा

आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मालाई भ्रष्टाचार मुद्दामा सफाइ दिने विशेष अदालत काठमाडौंको फैसलाविरूद्ध सर्वोच्च अदालतमा पुनरावेदन परेको छ ।

अभियोग पुष्टि हुने आधार भए पनि विशेष अदालतबाट दाबी नपुग्ने फैसला भएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बुधबार सर्वोच्च अदालतमा मुद्दाको पुनरावेदन गरेको हो ।

शर्माले सार्वजनिक सेवा अवधिमा तीन करोड ६३ लाख ७२ हजार ९६१ रूपैयाँ आयआर्जन गरेको देखिएको अख्तियारले जनाएको छ । सो रकमको तुलनामा विभिन्न शीर्षकमा गरिएको खर्च तथा लगानी सात करोड ९३ लाख २७ हजार ८५ रूपैयाँ देखिएको अख्तियारले जनाएको छ ।

शर्माको आयभन्दा बढी खर्च तथा लगानी गरेको चार करोड २९ लाख ५४ हजार १२४ रूपैयाँ देखिएको हो । उक्त सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरी अमिल्दो तथा अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको देखिँदा शर्माले भ्रष्टाचार निवारण ऐन बमोजिमको कसुर गरेको पुष्टि भएको दाबीसहित अख्तियारले मुुद्दा दर्ता गरेको थियो ।

शर्माले सार्वजनिक सेवाको पदमा रही आफ्नो पदको दुरूपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी गैरकानुनी रूपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्ति श्रीमती कल्पना उप्रेती शर्मासमेतको नाममा राखेको देखिएकाले जफत गर्ने प्रयोजनार्थ उनलाई पनि प्रतिवादी बनाइएको थियो ।

शर्माविरूद्ध कर फर्स्योटमा कानुनविपरीत कर छुट दिएको अभियोगमा पनि भ्रष्टाचार मुद्दा दर्ता भएको थियो ।

शर्मासहित कर फर्स्याेट आयोगका पूर्वअध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकालविरूद्ध दर्ता एक अर्ब ३३ लाख रूपैयाँ बढीको भ्रष्टाचार मुद्दामा विशेष अदालतले प्रत्येकलाई ९/९ वर्ष कैद र चार अर्ब १० करोड ४६ लाख ९७ हजार ८९८ रूपैयाँ जरिवाना सुनाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *