बालकुमारी घटना छानबिनका लागि उच्चस्तरीय आयोग गठन हुने

सरकारले ललितपुरको बालकुमारीमा शुक्रबार घटेको घटनाको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आयोग गठनका लागि उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आज निर्देशन दिएका छन् । गृह मन्त्रालयले सोसम्बन्धी प्रस्ताव तयार पारेर मन्त्रिपरिषद्मा पेस गर्नेछ ।

सोमबार बिहान बस्ने मन्त्रिपरिषद्को बैठकले आयोग गठनसम्बन्धी औपचारिक निर्णय गर्ने भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए । जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ को उपदफा २ बमोजिम आयोग गठन हुने उनको भनाइ छ । आयोगले सोमबारदेखि नै काम गर्नेछ ।

मन्त्री ज्वालाले पूर्वन्यायाधीशको संयोजकत्वमा न्यायिक छानबिन आयोग गठन गर्ने जानकारी दिए । उनले भने, ‘प्रधानमन्त्रीले आवश्यक निर्देशन दिइसक्नुभएको छ । भोलि बस्ने मन्त्रिपरिषद्को बैठकले यसबारेमा आवश्यक निर्णय गर्नेछ ।’

बालकुमारी घटनामा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो । साथै मन्त्री प्रकाश ज्वाला सवार सवारी साधनमा आगजनी भएको थियो ।

गृह मन्त्रालयले शनिवार जारी गरेको बिज्ञप्ती अनुसार ईपीएस कोरिया शाखा कार्यालयका निर्देशक गुरूदत्त सुवेदी, घटनास्थलमा सुरक्षा कमाण्डको जिम्मेवारीमा खटिएका जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेश लम्साल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) प्रहरी सहायक निरीक्षक (असई) बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णय भएको छ ।

यस्तै जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) रूद्रप्रसाद पण्डितलाई गृह मन्त्रालयमा फिर्ता बोलाउने निर्णय भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर