विद्युत प्राधिकरणलाई कानुनसम्मत एक रूपैयाँ पनि तिर्न बाँकी छैन : पवन गोल्यान

उद्योगी पवन गोल्यानले आफूले नेपाल विद्युत प्राधिकरणलाई कानुनसम्मत एक रूपैयाँ पनि तिर्न बाँकी नरहेको बताएका छन्।

आइतबार डेडिकेटेड र ट्रंकलाइनका विषयमा जानकारी दिन व्यवसायीहरूले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उद्योगी गोल्यानले विद्युत प्राधिकरणले कानुनी प्रमाण देखाए बिल भुक्तानी गर्ने बताए।

उनले सबैतिर रिलायन्स स्पिनिङ मिल्सले पनि १ अर्ब ९४ करोड रूपैयाँ तिर्न बाँकी रहेको भन्ने कुरा बाहिर आएको भन्दै मिल्सले विद्युत महसुलको कुनै पनि रकम तिर्न बाँकी नरहेको बताए। उनले अन्य धागो उद्योग समस्यामा परेका कारण त्यसको सजायस्वरूप आफूलाई अतिरिक्त शुल्क दिन भनिएको दाबी गरे।

उनले अब उद्योगी व्यवसायीहरू मजदुरसहित सडक आन्दोलनमा आएर रगत बगाउनुपर्ने हो भन्दै प्रश्न गरे। उनले प्राधिकरणले उद्योगको नाम नै तोकेर कति घण्टा लोडसेडिङ हुन्छ भनेर तालिका निकालेको भन्दै लाइन दिएको भए यो तालिका किन निकालिएको थियो भन्दै प्रश्न गरे।

उनले उद्योगहरूलाई विद्युत दिने प्राधिकरणको नियत कहिल्यै पनि नभएको बताए। उनले आफू कुनै पनि महिनाको विद्युत महसुल बाँकी नराख्ने ग्राहक रहेको बताए।

उनले कुलमान घिसिङले पत्रकार सम्मेलन गरेर सेन्टिमेण्टल कुरा गरेको बताए। उनले उद्योग खोलेर पाँच हजार नागरिकलाई रोजगार दिनु अपराध हो भन्दै प्रश्न गरे।

उनले उद्योगको लाइन काटेर दुई लाख श्रमिकको जागिर खोसेर राज्यले लगानी सम्मेलन गर्नु जायज नहुने बताए। उनले सरकारले भएका उद्योगहरू सबै बन्द गराउने काम गरिरहेको बताए।

उनले डेडिकेटेड र ट्रंकलाइनको महसुलको विषयमा ४ अर्ब रूपैयाँबाट २२ अर्ब रूपैयाँ देखाएर जनतालाई भ्रमित बनाउने काम प्राधिकरणले गरेको बताए। उनले टीओडी बिलको जिम्मेवारी प्राधिकरणले लिनुपर्नेमा व्यवसायीहरूलाई भारी बोकाउनु गलत भएको बताए।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर