मन्त्रिपरिषद् बैठकमा दिइने खाजा कटौती, वार्षिक ६० लाख जोगिने
राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा ससाना विषयबाट सुधारको थालनी गर्नुपर्ने भन्दै बैठकको खाजा कटौती गरिएको जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
खाजा बापत प्रत्येक मन्त्रिपरिषद् बैठकमा करिब रु ६० हजार खर्च हुने गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । वर्षमा एक सयभन्दा बढी मन्त्रिपरिषद् बैठक हुने गरेका छन् । मन्त्रिपरिषद्मा हुने खाजा कटौती भएसँगै वार्षिक करिब रु ६० लाख जोगिएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । मन्त्रिपरिषद् बैठकमा सामान्य खाजा खुवाउन सुरु गरिएको छ ।
सुशासन र सुधारमा ससाना विषय पनि महत्वपूर्ण मानिने भएकाले प्रधानमन्त्री दाहालले आफ्नै कार्यालयबाट सुधारको थालनी गरेको उनको भनाइ छ । सुशासन र सुधारका कार्यलाई निरन्तर अगाडि बढाइने उनले बताए ।
सरकारको कार्यशैली बदल्ने घोषणा गर्नुभएका प्रधानमन्त्री दाहाल सार्वजनिक बिदाका दिन बाहेक दैनिक १० बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुग्ने गरेको छ । प्रधानमन्त्री सिंहदरबारबाट दैनिक विभिन्न मन्त्रालयका ‘ब्रिफिङ’ लिने, राष्ट्रिय गौरवलगायत आयोजनामा देखिएका समस्या समाधानका लागि पहल लिँदै आएका छन् ।
यसैबीच, नेपाल संवत्लाई सम्पूर्ण सरकारी दस्तावेजमा उल्लेख गर्ने सरकारको निर्णय कार्यान्वयनमा आएको छ । विभिन्न अवसरमा प्रधानमन्त्री दाहालले शुभकामना सन्देशमा नेपाल संवत्को मिति उल्लेख गर्न थालिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
- नेता खतिवडाको प्रश्न- देशको सञ्चार क्षेत्रलाई विकास गर्ने मुल नीति के हो?
- सार्वजनिक सेवा प्रशारण फेरि मन्त्रालयको हालीमुहाली हुनेगरी अघि बढेको छ : नेता रिजाल
- विपद्का लागि सातै प्रदेशमा एयर एम्बुलेन्स जरुरी छ : गृहमन्त्री लामिछाने
- एक वर्षमा विपद्बाट १ अर्ब २३ करोड रुपैयाँ बराबरको क्षति भएको सरकारको आँकलन
प्रतिक्रिया