फेरि पनि भागबन्डामै उपकुलपति नियुक्तिकाे संकेत

प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा उपकुलपति छनोटका लागि प्रकाशन गरिएको सूचनाप्रति आपत्ति जनाएका छन्। उपकुलपतिमा दाबी गर्न विश्वविद्यालयका पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्षको अनुभव हुनुपर्ने सर्तसहितको सूचना निकालिएपछि त्यसमा प्रधानमन्त्री दाहालले आपत्ति जनाएका हुन्।

उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले शुक्रबार दरखास्त आह्वान गर्दै प्रकाशन गरेको सूचनामा त्रिविका पदाधिकारी पदमध्ये कुनै एकमा कम्तीमा तीन वर्षको अनुभव हुनुपर्ने सर्त राखेपछि विरोध भएको छ।

यो सर्तको चौतर्फी विरोध हुन थालेपछि विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहालले तत्काल त्यो प्रावधान हटाएर अर्को सूचना प्रकाशन गर्न निर्देशन दिएका हुन्।

समितिका संयोजक एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई र सदस्य एवं शिक्षा सचिव सुरेश अधिकारीलाई शुक्रबार प्रधानमन्त्री कार्यालयमा बोलाएर दाहालले सार्वजनिक सूचनाले अन्योल सिर्जना गरेको भन्दै हटाउन निर्देशन दिएका हुन्।

‘हामीले त्रिविलाई राजनीतिक दाउपेचबाट मुक्त पार्न खोजेका छौंं,’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो, ‘तर प्रकाशित सूचनाले राजनीतिक भागबन्डामै उपकुलपति नियुक्ति गर्न लागेजस्तो देखियो।

विश्वविद्यालयका पदाधिकारीमध्ये कुनै एक पदमा तीन वर्ष काम गरेको अनुभव राख्दा फेरि पनि राजनीति भागबन्डामै नियुक्ति हुने देखियो। यसकारण यस्तो व्यवस्था हटाएर अर्को सूचना प्रकाशित गर्नुस्, जसले देशविदेश जतासुकैका विज्ञ नेपालीलाई उपकुलपति हुने बाटो खोलोस्।’

त्रिवि उपकुलपति छनोट समितिले शुक्रबार आह्वान गरेको सूचनामा उपकुलपति हुन चाहने उम्मेदवार नेपाली नागरिक हुनुपर्ने, स्नातकोत्तर र विद्यावारिधि तहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्ने, प्राध्यापकको सुरु नियुक्तिपत्रको कपी बुझाउनुपर्ने, बढीमा तीन हजार शब्दसम्मको विश्वविद्यालयसम्बन्धी सोचपत्र पेस गर्नुपर्ने व्यवस्था पनि गरेको थियो। शिक्षामन्त्री राईका स्वकीय सचिव प्रकाश सापकोटाले प्रधानमन्त्रीको निर्देशनपछि सोहीबमोजिम शिक्षामन्त्रीले मन्त्रालयमा छलफल गरेको जानकारी दिए। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर